‘बिचौलियाको कब्जामा प्रहरी हेडक्वार्टर’: सांसद सुनार


काठमाडौँ । सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको उच्च नेतृत्व र खरिद प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। प्रहरीको केन्द्रीय कार्यालय (हेडक्वार्टर) नै निश्चित बिचौलियाहरूको चंगुलमा परेको भन्दै उनले प्रहरी महानिरीक्षक (आईजीपी) माथि उठेका शंकाहरूको तत्काल निरुपण हुनुपर्ने माग गरेका हुन्।

प्रहरीभित्र स्रोत–साधन खरिदमा ठूलो आर्थिक अनियमितता भएको आफ्नो पूर्ववत् दाबीलाई सुनारले समितिमा पुनः दोहोर्‍याएका छन्। समितिको निर्देशनलाई बेवास्ता गर्दै प्रहरी नेतृत्वले हतारमा टेन्डर आह्वान गरेको विषयलाई उनले बैठकको मुख्य एजेन्डा बनाए।

स्मरणीय छ, सार्वजनिक लेखा समितिले प्रहरीको खरिदमा भएका भनिएका अनियमिततासम्बन्धी सम्पूर्ण कागजात १५ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको थियो। तर, उक्त समयसीमा नघर्किंदै प्रहरीले करोडौँ रुपैयाँ बराबरको नयाँ टेन्डर आह्वान गरेपछि यसले भित्री सेटिङको आशंकालाई थप बल पुर्‍याएको सांसद सुनारको जिकिर छ।

‘निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर नै कब्जा गरेका छन्। मैले अस्ति उठाएको प्रश्नमा म आज पनि अडिग छु, मजबुत छु’, बैठकमा सुनारले दृढताका साथ भने।

प्रहरी खरिदको अपारदर्शी सञ्जालमाथि प्रहार गर्दा कसैको ‘मानमर्दन’ भएको भए कानुनी उपचार खोज्नसमेत उनले खुला चुनौती दिएका छन्। उच्च नेतृत्वलाई लक्षित गर्दै उनले भने, ‘कहीँ कतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला। कठघरामा उभिएर जवाफ दिन म तयार छु।’

सार्वभौम संसद्को महत्वपूर्ण समिति केवल व्यक्तिगत आरोप–प्रत्यारोपको थलो बन्न नहुने भन्दै सुनारले समितिको गरिमा र औचित्यमाथि पनि जोड दिएका छन्। प्रहरी नेतृत्वमाथि नै यति गम्भीर प्रश्न उठिसकेको अवस्थामा आवश्यक सम्पूर्ण कागजात झिकाएर तथ्य र प्रमाणका आधारमा सूक्ष्म छानबिन गर्नुपर्ने उनको माग छ।