काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएका छन्। बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद सिंहले आयोगको कार्यशैली र निष्पक्षतालाई लिएर कडा आपत्ति जनाएका हुन्।
‘अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो कि संवैधानिक आयोग?’ भन्दै उनले बैठकमा प्रश्न गरे। गत असारमा अख्तियारका पदाधिकारीहरू प्रधानमन्त्री कार्यालय पुगेको र उनीहरूलाई प्रधानमन्त्रीको सचिवालयले ‘घण्टौँ थुनेर राखेको’ समाचार प्रकाशित भएको पृष्ठभूमि जोड्दै सिंहले सो प्रश्न उठाएका हुन्।
सांसद सिंहले अख्तियारका पदाधिकारीहरूकै कमजोरीका कारण आयोगले आफ्नो संवैधानिक दायित्व पूरा गर्न नसकेको दाबी गरे। ‘संसदीय समितिमा आउन मिल्छ, तर अख्तियार प्रधानमन्त्री मातहतको संस्था होइन,’ सिंहले भने, ‘त्यसैले अख्तियारका पदाधिकारीहरू कुनै मन्त्री वा प्रधानमन्त्रीले बोलाउँदैमा त्यहाँ धाउनु हुँदैन। अख्तियारको मर्यादा दिनप्रतिदिन समाप्त हुँदै गएको छ, यो प्रवृत्तिको अन्त्य हुनुपर्छ।’
सो क्रममा उनले न्यायालय र अख्तियार बिचौलिया उत्पादन गर्ने संस्थामा परिणत भएको टिप्पणीसमेत गरे। भागबन्डाको राजनीति अन्त्य गर्न आग्रह गर्दै उनले संवैधानिक निकायहरू पूर्वकर्मचारीहरूको क्लब बनेको आरोप लगाए।
यस्तै, भ्रष्टाचारको पैसा अहिले सुनमा लगानी भइरहेको दाबी गर्दै सांसद सिंहले निजगढ एयरपोर्टको जग्गा अधिग्रहणमा ठूलो भ्रष्टाचार भएको मुद्दा पनि बैठकमा उठाए। ७-८ अर्बमा बन्ने योजनामा जग्गा अधिग्रहणका लागि मात्र २३ अर्ब रूपैयाँ वितरण गरिएको भन्दै उनले बालुवा नै नभएको ठाउँमा बालुवाको मुचुल्का उठाएर बजेट दुरुपयोग गरिएको बताए।
उच्चपदस्थ व्यक्तिहरू संलग्न रहेका काण्डमा अख्तियार मौन बस्ने र साना मान्छेलाई मात्र दुःख दिने गरेको भन्दै उनले कानुनको नजरमा सबै समान हुनुपर्ने धारणा राखे।




प्रतिक्रिया