काठमाडौँ, ४ भदौ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण संस्था (नेपाल टेलिभिजन र रेडियो नेपाल) लाई व्यावसायिक, प्रतिस्पर्धी, प्रभावकारी र जनउत्तरदायी बनाउन आवश्यक भएको बताएका छन् ।
सार्वजनिक सेवा प्रसारण संस्था नेपालले चालु आर्थिक वर्षका लागि निर्धारण गरेको बजेट तथा वर्षभरि सञ्चालन हुने कार्यक्रमबारे जानकारी लिदैँ सञ्चारमन्त्री तिमिल्सिनाले सबैजसो सार्वजनिक संस्थाहरु कमजोर र निष्क्रिय जस्तो अवस्थामा रहेकामा तिनलाई पुनर्जीवन दिई सक्षम संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
सञ्चारमन्त्री तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण संस्थाले आफ्नो मूल उद्देश्यअनुसार काम गर्नु नै पहिलो प्राथमिकता हुनुपर्ने बताए । अहिले सञ्चारमाध्यमहरू ‘डिजिटल प्लेटफर्म’ र सामाजिक सञ्जालमा तीव्र रूपमा विस्तार भइरहेकाले नेपाल टेलिभिजन र रेडियो नेपालले पनि आफ्ना सामग्रीको गुणस्तर बढाउँदै डिजिटल माध्यममा प्रभावकारी उपस्थिति जनाउनुपर्नेमा उनले जोड दिए ।
सञ्चारमन्त्री डा तिमिल्सिनाले उपलब्ध स्रोत, साधन र जनशक्तिको अधिकतम उपयोग गरी उत्कृष्ट नतिजा हासिल गर्न निर्देशन दिए । नेपाल टेलिभिजन र रेडियो नेपालको प्रशासन तथा लेखा शाखालाई एकीकृत गर्न उनले सुझाए ।
सञ्चारमन्त्रीले संस्थागत हितलाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्दै भने, “संस्था जोगिन सक्यो भने मात्र त्यसबाट सबैले लाभ लिन सक्छन् । राज्यको ठूलो रकम खर्च भइरहने तर संस्थाले आफ्नो उद्देश्य पूरा गर्न नसक्ने अवस्था आउन भएन ।”
सञ्चारमन्त्री तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारणबाट प्रसारित समाचार तथा सूचना सामग्री निष्पक्ष, तथ्यपरक र वस्तुनिष्ठ हुनुपर्नेमा जोड दिए । राजनीतिक आग्रह वा पूर्वाग्रहबाट प्रभावित सामग्री प्रसारण गर्न नहुने भन्दै उनले नागरिकलाई केन्द्रमा राखेर समाचार तथा कार्यक्रम उत्पादन गर्न निर्देशन दिए ।
नेपाल टेलिभिजन र रेडियो नेपालले खोजमूलक तथा जनचासोका सामग्रीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले नागरिकलाई सही र विश्वसनीय सूचना प्रवाह गर्न पछि पर्न हुँदैन भने । विशेषगरी सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सूचनालाई चिर्न सार्वजनिक सेवा प्रसारण संस्थाको महत्वपूर्ण दायित्व रहेको बताउँदै उनले विपद्को समयमा पूर्वसूचना प्रवाह, राहत तथा उद्धारसम्बन्धी सूचना प्रसारणमा पनि सार्वजनिक सेवा प्रसारण संस्थाको भूमिका महत्वपूर्ण हुने दोहोर्याए । सार्वजनिक सेवा प्रसारण संस्थालाई सक्षम संस्थाका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको सञ्चारमन्त्रीले बताए ।
सञ्चार मन्त्रालयका सहसचिव तथा सार्वजनिक सेवा प्रसारण संस्थाका सदस्य रविलाल शर्माले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन आम्दानी र खर्च व्यवस्थापनमा नयाँ सोच र शैलीका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।
उनले संस्थाको वार्षिक लेखापरीक्षण समयमै सम्पन्न गर्ने र बेरुजु फछ्र्योटलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । सरकारले सार्वजनिक सेवा प्रसारण संस्थामा ऋण, शेयर लगानी र अनुदान गरी तीनवटै माध्यमबाट लगानी गरिरहेको बताउँदै सहसचिव शर्माले त्यसबाट नागरिक लाभान्वित हुनुपर्ने बताए । संस्थामा लगानी भएको सरकारी ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न संस्थाको आम्दानी बढाउनुपर्ने र सरकारले गरेको शेयर लगानीबाट लाभांश प्राप्त गर्ने अवस्था सिर्जना गर्नुपर्ने उनको भनाइ थियो ।
सार्वजनिक सेवा प्रसारण संस्थाका कार्यवाहक अध्यक्ष उर्वशी बस्न्यातले संस्थालाई प्रतिस्पर्धी, जवाफदेही र जनउत्तरदायी बनाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।




प्रतिक्रिया