सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड


काठमाडौँ, ४ भदौ । सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड दिएका छन् ।

अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा ‘पर्यटन विधेयक २०८१’ का सम्बन्धमा होटल एसोसिएसन नेपाल (हान)लगायतका सरोकारवाला निकायले पर्यटन व्यवसायलाई दीर्घकालीन, प्रभावकारी र बृहत्तर बनाउनुपर्नेमा धारणा राखेका थिए ।

सरोकारवालाले अबको पर्यटन ग्रीन, आरोग्य, धार्मिक, वैवाहिक पर्यटनलगायत विभिन्न नवीन शैलीका पर्यटनलाई समेट्न जोड दिएका छन् ।

होटल एसोसिएसन नेपाल (हान)का अध्यक्ष विनायक शाहले ‘पर्यटन विधेयक २०८१’ को मस्यौदाले क्यासिनो विस्तारमा मात्रै जोड दिएको बताए ।

उनले विधेयकमा रहेको चारतारे र पाँचतारे होटल सङ्घले हेर्ने र होटेलले क्यासिनो सञ्चालन गरेबापत १० प्रतिशत शेयर लिनुपर्ने बाध्यकारी व्यवस्था हटाउनुपर्ने बताए ।

समितिका सभापति सुिम्नमा उदासले पर्यटन क्षेत्र देशको गौरव, अन्तरराष्ट्रिय सम्बन्ध विस्तार र अर्थतन्त्रको महत्वपूर्ण आधार रहेकाले विधेयक संशोधनमा गम्भीर भई सरोकारवालासँगको राय सुझाव सङ्कलन आवश्यक हुने बताए ।