रास्वपा महामन्त्रीमा कसले मार्ला बाजी ? सुधन कि सुनिल ?


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा महामन्त्री पदलाई लिएर चर्चा सुरु भएको छ। पार्टीको पहिलो महाधिवेशनपछि आज पदाधिकारी संरचना विस्तार भएसँगै महामन्त्रीमा को भन्ने चर्चा सुरु भएको हो।

विशेषगरी प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहनिकट नेताहरू पार्टीको केन्द्रीय सदस्यमा मनोनीत भएसँगै महामन्त्री पदको राजनीतिक वृत्तमा चर्चा चुलिएको हो । आज मात्रै रास्वपा केन्द्रिय समिति बैठकले गृहमन्त्री सुधन गुरुङ, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, पूर्वमहामन्त्री भूपदेव शाहलगायत नौ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ।

यसअघि बालेन समूहबाट सुनिल लम्साल, सुधन गुरुङ र प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालमध्ये एक जनालाई महामन्त्री बनाउने चर्चा चलेको थियो। बालेननिकट नेताहरूबीच सहमति जुट्न नसके सुदीप ढकाललाई अघि सार्ने सम्भावनासमेत रहेको चर्चा छ ।

त्यसमध्ये सुधन गुरुङलाई बलियो दाबेदारका रूपमा हेरिनुको कारण उनको राजनीतिक हैसियत मात्रै होइन, रवि लामिछाने र बालेन्द्र शाहबीचको सम्बन्धमा उनको भूमिका पनि हो। उनी बालेननिकट नेताका रूपमा स्थापित छन् र पार्टीभित्र नयाँ शक्ति समूहको प्रतिनिधित्व गर्ने अनुहारका रूपमा पनि हेरिन्छन्।

तर, सुधन एक्ला दाबेदार भने होइनन्। सुनिल लम्साल पनि बालेनको विश्वासपात्रका रूपमा बलिया देखिन्छन्। बालेन महानगरमा हुँदा लम्सालसँग उनको निकट सहकार्य थियो। त्यसैले बालेन समूहले पदाधिकारीमा आफ्नो प्रभाव कायम राख्न खोज्दा लम्सालको नाम स्वाभाविक रूपमा अगाडि आउँछ।

यता भूपदेव शाहको नाम पनि एक समय मनोनीत महामन्त्रीका रूपमा लगभग निश्चितजस्तै चर्चामा आएको थियो। तर पछिल्लो समीकरणमा उनलाई महामन्त्रीभन्दा अन्य भूमिकामा व्यवस्थापन गर्ने तयारी रहेको चर्चा छ । शुक्रबार उनी पनि केन्द्रीय सदस्यमा मनोनीत भएका छन्।

अर्कोतर्फ , पार्टी सभापति रवि लामिछाने निकट विपिनकुमार आचार्य महाधिवेशनबाटै महामन्त्रीमा निर्वाचित भइसकेका छन् । रास्वपाको संशोधित विधानले दुई महामन्त्री रहने व्यवस्था गरेको छ । सभापति रविको तर्फबाट आचार्य महामन्त्री बनिसकेका कारण अर्को महामन्त्री बालेननिकट एक नेता बन्ने निश्चित छ ।

त्यसैले अहिलेको सबैभन्दा ठूलो प्रश्न हो—बालेनले सुधनलाई अघि सार्छन् कि सुनिललाई? दुवैबीच सहमति नजुटे सुदीप ढकाललाई अगाडि सार्ने तयारी रहेको बालेननिकट स्रोत बताउँछ ।