काठमाडौँ । बाहिर हेर्दा प्रधानमन्त्री बालेन शाहको मुस्ताङ यात्रा एउटा सामान्य ‘निजी तथा पारिवारिक’ भ्रमण थियो। म्याग्दीको बेनी–जोमसोम खण्डअन्तर्गत रुप्से झरना र बैसरीको पहिरो छिचोल्दै, आफैँ गाडीको स्टेयरिङ सम्हालेर प्रधानमन्त्री शाह मुस्ताङ उक्लिए। मुक्तिनाथ दर्शन गरे र काठमाडौँ फर्किए।
तर, के प्रधानमन्त्री बालेनको यो मुस्ताङ यात्रा मुक्तिनाथ मन्दिरको पूजाआजा र सडकको खाल्डाखुल्डी नाप्नमा मात्र सीमित थियो ? हिमालपारिको चिसो भूमिबाट प्रम बालेनले के ल्याए ?
यसको भित्री र सटिक उत्तर हो– नेपाली सेनासँगको अभेद्य विश्वास र सत्तामा आफ्नो दह्रो पकड।
पछिल्लो समय सिंहदरबारको शक्ति अभ्यासलाई नजिकबाट नियाल्ने हो भने एउटा रोचक तर गम्भीर परिदृश्य देखिन्छ। प्रधानमन्त्री बालेन परम्परागत राजनीतिक दल र तिनका नेताहरूसँग संवाद गर्न लगभग छाडिसकेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग समेत उनको कुनै राजनीतिक उठबस वा गहिरो सम्बन्ध छैन। नागरिक तहबाट उदाएका दुई ठूला अनुहारबीचको यो संवादहीनता आफैँमा अर्थपूर्ण छ।
अहिले प्रधानमन्त्री बालेन एउटै शक्तिसँग निरन्तर कुराकानी, सहकार्य र सम्बन्धमा छन्– त्यो हो, नेपाली सेना।
प्रशासनिक तथा सुरक्षा निकायका उच्च अधिकारीहरूले नै पुष्टि गरेअनुसार प्रधानमन्त्रीको यो निजी मुस्ताङ भ्रमणको सम्पूर्ण प्रबन्ध नेपाली सेनाले नै मिलाएको थियो। मुस्ताङ त्यस्तो भू-राजनीतिक रूपले अति संवेदनशील क्षेत्र हो, जहाँ सन् १९७० को दशकमा नेपाली सेनाले नै अपरेसन चलाएर खम्पा विद्रोहलाई विसर्जन गरेको थियो। तिब्बतसँग जोडिएको कोरला नाका, चिनियाँ र अमेरिकी चासोको केन्द्र रहेको यो भूगोलमा बालेनको उपस्थितिलाई सेनाले जसरी सूक्ष्म रूपमा व्यवस्थापन गर्यो, त्यसले प्रधानमन्त्री र सेनाबीचको कसिलो गठजोडलाई छर्लङ्ग पारेको छ।
नागरिक सरकारको नेतृत्व गरिरहेका बालेन किन सेनासँग यति धेरै नजिकिए ? विश्लेषकहरूका अनुसार, दलीय खिचातानीबाट माथि उठ्न बालेनले सत्ताको सबैभन्दा स्थायी र अनुशासित खम्बाका रूपमा जंगीअड्डालाई रोजेका हुन्।
हाल प्रधानमन्त्री बालेनलाई प्रधानसेनापतिको पूर्ण र अभूतपूर्व साथ रहेको उच्च स्रोतहरू बताउँछन्। देशको आन्तरिक सुरक्षा, विकास निर्माण जस्तैः बेनी–जोमसोम जस्ता जोखिमपूर्ण सडकको दीर्घकालीन विकल्प र भू–राजनीतिक सन्तुलनका मुद्दामा प्रधानमन्त्रीले सीधै सेनासँग मात्र छलफल गर्ने गरेको स्रोतको दाबी छ।
सेनासँगको यही सहकार्यका कारण बालेन अहिले राजनीतिक रूपमा झन् बलियो र आत्मविश्वासले भरिएका छन्। सेनाको बलियो आड र समर्थन पाएका प्रधानमन्त्री बालेनलाई रवि र उनको टिमले सत्ताबाट ढाल्न निकै नै कठिन रहेको राजनीतिक विश्लेषकहरुको ठहर छ ।




प्रतिक्रिया