दशैंको मुखमा प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी


काठमाडौँ । आगामी बडादशैंको मुखमा प्रधानमन्त्री बालेन शाह छिमेकी देश भारतको भ्रमणमा जाने भएका छन् ।
त्यसैले यतिबेला काठमाडौंका शक्ति केन्द्रहरूमा कूटनीतिक सरगर्मी बढेको छ। प्रधानमन्त्री बालेनको आगामी भारत भ्रमणलाई लिएर सिंहदरबार र नयाँ दिल्लीबीच संवादका नयाँ च्यानलहरू तीव्ररूपमा सक्रिय हुन थालेका छन्। पछिल्ला केही सातायता विकसित राजनीतिक तथा कूटनीतिक घटनाक्रमले प्रम बालेनको पहिलो औपचारिक भारत भ्रमणको वातावरण तयार भइरहेको स्पष्ट संकेत गरेका छन्।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको हालै सम्पन्न भारत भ्रमण, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग प्रधानमन्त्री बालेनको भेटवार्ता र हालै भएको भारतीय सेना प्रमुखको काठमाडौं अवतरणलाई यसै कूटनीतिक कसरतको महत्त्वपूर्ण कडीका रूपमा हेरिएको छ।

प्रधानमन्त्रीका सल्लाहकार असीम साहका अनुसार सबै तयारी समयमै पूरा भए दशैंको मुखमा प्रधानमन्त्री बालेन शाह नयाँ दिल्ली पुग्नेछन्। ‘यसका लागि भ्रमणको प्रारम्भिक गृहकार्य शुरु भइसकेको छ,’ सल्लाहकार साहले जानकारी दिँदै भने, ‘दुवै तर्फबाट उपयुक्त मिति र भ्रमणका एजेन्डाबारे प्राविधिक छलफल भइरहेको छ।’

यसैबीच, दशैंअघि नै हुने भनिएको प्रधानमन्त्रीको भारत भ्रमणका लागि परराष्ट्र मन्त्रालयले भ्रमणको मस्यौदा तयार पारिरहेको जनाएको छ ।