काठमाडौं, भदौ ९ । आज १५ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज ललितपुर, भक्तपुर, काठमाण्डुसहितका १५ जिल्लामा बाढीको जोखिम रहेको बताएको हो ।
महाशाखाका अनुसार आज ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाण्डु, नुवाकोट, रसुवा, तनहुँ, लमजुङ, कास्की, दैलेख, सुर्खेत र आसपासका जिल्ला भई बहने स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको छ।
यस्तै आज देशभरका ७ वटा सडक पूर्णरुपमा अवरुद्ध बनेका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार मेची राजमार्गको ईलाम खण्ड, अरनिको राजमार्गको सिन्धुपाल्चोक खण्ड र जाजरकोट–डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेका छन् ।
यस्तै सिन्धुपाल्चोकको लिपिङ र रसुवाको खाल्टेमा आएको बाढी र पहिरोले गर्दा सडक सुचारु हुन सकेको छैन । बागमती प्रदेशका विपी राजमार्ग, कान्ति लोकपथ र टोखा–छहरे सडकमा भने सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै रात्रिकालीन समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।




प्रतिक्रिया