मुस्ताङ, ११ भदौ । हिमाली जिल्ला मुस्ताङमा स्याउ टिप्ने कार्यतालिका सार्वजनिक गरिएको छ । छिटो पाक्ने स्याउ यही भदौ १५ गतेदेखि टिप्नुपर्नेछ । यस्तै ढिलो पाक्ने स्याउ भने भदौ २२ गतेपछि मात्रै टिप्न सकिनेछ ।
उक्त कार्यतालिका कार्यान्वयनमा लैजान सबै स्थानीय तह, कृषक र व्यापारीलाई अनुरोध गरिएको कृषि तथा पशु सेवा विकास कार्यालय मुस्ताङका प्रमुख डा लालमणि अर्यालले जानकारी दिए । मुस्ताङका किसानले स्थानीय र हाइब्रिड स्याउ खेती गर्दै आएका छन् । स्याउको ‘सिजन’ सुरु भएसँगै व्यापारी मुस्ताङ आउन थालेका छन् ।
अग्रिम रुपमा पैसा बुझाएका व्यापारीले स्याउ टिप्न हतार गरेपछि जिल्ला समन्वय समितिले छलफल गरेर कार्यतालिका तय गरेको हो । घरपझोङ—५ ठिनीका वडाध्यक्ष प्रदीप थकालीका अनुसार मुस्ताङको स्याउको पहिचान राख्न सबैको साथ र सहयोग जरुरी छ ।
कतिपय कृषक र व्यापारीले मुनाफाका लागि हतार हतार बजार पुर्याउँदा मुस्ताङको स्याउको गुणस्तरप्रति उपभोक्ताले गुनासो गर्ने गरेका थिए । गुनासो आउन नदिन छलफलका आधारमा कार्यतालिका निर्धारण गरिएको जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङले जानकारी दिए ।
कृषि तथा पशु सेवा विकास कार्यालयका अनुसार गत बर्ष मुस्ताङमा रु एक अर्ब बराबरको स्याउ उत्पादन भएको थियो ।




प्रतिक्रिया