बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत तीव्र


काठमाडौ । रसुवास्थित नेपाल–चीन सीमा क्षेत्रबाट बहने भोटेकोशी नदीमा आएको बाढीबाट बढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको छ।

नेपाली सेनाको कमान्डमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले बिहीबार बिहानैदेखि बाढीग्रस्त क्षेत्रमा फसेका नागरिकको उद्धार, हराइरहेका व्यक्तिको खोजी तथा विस्थापितलाई राहत उपलब्ध गराउने काम गरिरहेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिएका छन्।

सेनाले रसुवाको स्याफ्रुबेँसी, टिमुरे र मैलुङ क्षेत्रबाट बाढीमा फसेका स्वदेशी तथा विदेशी गरी १२० जनाको हवाई उद्धार गरेको छ। उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सुरक्षाकर्मी परिचालनलाई समेत बढाइएको सेनाले जनाएको छ।

प्रवक्ता बस्नेतका अनुसार बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका २ हजार ३५० सैनिक परिचालन गरिएका छन्। सुरक्षाकर्मीले प्रभावित क्षेत्रमा उद्धारसँगै बेपत्ता व्यक्तिको खोजी र विस्थापित नागरिकलाई राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखेका छन्।

भोटेकोशी नदीमा आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि जोखिममा रहेका नागरिकको सुरक्षित स्थानान्तरण तथा प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउने कार्यलाई पनि तीव्र बनाइएको छ।