काठमाडौँ । प्राकृतिक विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई अत्यावश्यक अवस्थाबाहेक बिदा नलिन निर्देशन दिएको छ। मन्त्रालयले सार्वजनिक बिदाका दिनहरूमा समेत खोज, उद्धार तथा स्वास्थ्य उपचार सेवाका लागि पूर्ण तयारी अवस्थामा रहन कर्मचारीहरूलाई आग्रह गरेको छ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण प्रभावित क्षेत्रमा खोज, उद्धार, स्वास्थ्योपचार र राहतका कार्यहरू तीव्र रूपमा भइरहेको सन्दर्भमा मन्त्रालयले शुक्रबार यो विशेष निर्देशन जारी गरेको हो।
मन्त्रालयद्वारा जारी निर्देशनमा उल्लेख गरिएका प्रमुख विषयहरू:
- बिदा तथा काजमा रोक: मातहतका कर्मचारीहरूको विशेष र अत्यावश्यक कारणबाहेक अन्य अवस्थामा बिदा तथा काज स्वीकृत नगर्न र नगराउन कडा निर्देशन दिइएको छ।
- पदाधिकारीहरूको अनिवार्य उपस्थिति: खोज, उद्धार तथा उपचार सेवासँग सम्बन्धित निकायका प्रमुख, फोकल पर्सन र जिम्मेवार अधिकारीहरूलाई सार्वजनिक बिदाका दिनमा समेत अनिवार्य रूपमा कार्यालयमा उपस्थित हुन भनिएको छ।
- अस्पतालहरूलाई उच्च सतर्कता: बाढीपहिरोका प्रभावित तथा घाइतेहरूको तत्काल उपचारका लागि आवश्यक व्यवस्था मिलाउन अस्पताल तथा स्वास्थ्यकर्मीहरूलाई सार्वजनिक बिदाका दिनमा पनि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
- अन्य कर्मचारी ‘स्ट्यान्डबाइ’: स्वास्थ्य क्षेत्रका अन्य सम्पूर्ण कर्मचारीहरूलाई जुनसुकै समयमा आवश्यक पर्न सक्ने सेवा प्रवाहका लागि तयारी अवस्थामा रहन भनिएको छ।
विपद्को समयमा स्वास्थ्य सेवालाई निरन्तर, प्रभावकारी र पहुँचयोग्य बनाउन मन्त्रालयले मातहतका सबै संयन्त्रलाई उच्च सतर्कताका साथ परिचालन हुन आह्वान गरेको छ।




प्रतिक्रिया