रसुवा र नुवाकोटमा सिमित भयो सरकार, राहत र उद्वार धादिङमा पुगेन !


धादिङ । बुधबार बिहान रसुवाको भोटेकोसीमा आएको भीषण बाढीबाट धेरै धनजनको क्षति भएको छ । क्षतिको यकिन विवरण अझै प्राप्त भएको छैन ।

बाढीबाट रसुवा ,नुवाकोट गोरखा र धादिङका विभिन्न क्षेत्रसमेत प्रभावित बनेको छ । १३ हजार बढी सुरक्षाकर्मी उद्वारको लागि परिचालन गरिएको सरकारले जनाएको छ ।

सेनाको हेलिकप्टर र निजि हेलिकप्टरसमेत प्रयोग गरिए पनि राहत तथा उद्धारका गतिविधि धादिङमा भने पुगेको छैन । आज धादिङमा बाढीपछिको अवस्था बुझ्न गएको बेला बाढी पीडितहरुले यसबारेमा वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलासँग गुनासो गरेका छन्।

बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न आफ्नो गृहजिल्ला धादिङ पुगेका धमलासँग स्थानीयले आफूहरूले भोगिरहेको समस्या सुनाएका हुन् । उनीहरूले बाढीका कारण घरमा बस्न सक्ने अवस्था नरहेको, कतिपय परिवार सुरक्षित स्थानको खोजीमा पाखा तथा भित्तामा बस्न बाध्य भएको र खानेकुरासमेत अभाव भएको बताए ।

‘राहत रसुवा र नुवाकोट केन्द्रित भयो, धादिङमा पुगेन। हामी पनि बाढीपीडित हौँ, हाम्रो अवस्था पनि सरकारले बुझिदिनुपर्‍यो,’ एक स्थानीयले धमलासँग गुनासो गर्दै भने ।

स्थानीयले घरबास गुमाएका परिवारका लागि तत्काल खाद्यान्न, लत्ताकपडा, त्रिपाल तथा सुरक्षित बसोबासको व्यवस्था गर्न माग गरेका छन्।

स्थानीयको गुनासो सुनेपछि धमलाले धादिङका बाढीपीडितको आवाज सरकारसम्म पुर्‍याउने र तत्काल राहतका लागि पहल गर्ने बताए ।

धमलाले सम्बन्धित सुरक्षा निकाय तथा मन्त्रालयका अधिकारीहरूलाई तत्कालै धादिङका बाढीपीडितको अवस्थाबारे जानकारी गराएका थिए । उनले प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गर्दै पीडितसम्म आवश्यक सामग्री तत्काल पुर्‍याउनसमेत सरकारलाई माग गरे ।