बाढीको महासंकट: जनसेवादेखि पुनःनिर्माणसम्म स्वतन्त्र नागरिक अभियानको बहुआयामिक पहल


काठमाडौँ । भोटेकोशी र त्रिशूली बाढीको विभीषिकाले देश आक्रान्त बनेका बेला ‘स्वतन्त्र नागरिक अभियान’का अध्यक्ष ऋषि धमलाले जनताको घाउमा मलम लगाउने मात्र नभई समग्र देशको पुनःनिर्माण र भू-राजनीतिक सन्तुलनसहितको नयाँ खाका प्रस्तुत गरेका छन्।

रसुवा, नुवाकोट र धादिङका बस्तीहरूमा भोटेकोशी र त्रिशूलीको बाढीले मच्चाएको विनाश प्रत्यक्ष नियालेका धमलाले आफ्नो मुटु छियाछिया बनेको विशेष पत्रकार सम्मेलनमा उल्लेख गरे, “चार दिनदेखि गाउँमै छु, दुई दिनदेखि आँखामा निद्रा छैन,” भावुक बन्दै धमलाले सुनाए।

आफन्त गुमाएकाहरूको रुवाबासी, अस्पतालमा आफ्ना मान्छे खोज्दै भौँतारिएका अभिभावक र खुला आकाशमुनि रात बिताउन बाध्य नागरिकको सास्तीले धमला गम्भीर बनेका हुन् । केवल भाषणमा सीमित नभई उनी भोलि नै चिकित्सक, विज्ञ टोली र खाद्यान्नसहित नुवाकोटको प्रभावित क्षेत्रतर्फ लम्किँदै छन्।

धमलाले प्रकोपपछि मात्र जाग्ने सरकारी शैलीमाथि प्रश्न उठाउँदै पूर्वसूचना प्रणाली र जलवायु परिवर्तनका विषयलाई सतहमा ल्याएका छन्। तिब्बतबाट आएको बाढी त्रिशूलीमा आइपुग्नुभन्दा १५ मिनेटअघि मात्र सूचना आउनु राज्य संयन्त्रको कमजोरी भएको उनको विश्लेषण छ। अलि अगाडि नै सूचना पाएको भए सयौँको ज्यान जोगिन सक्ने तथ्य औँल्याउँदै उनले उद्धार टोलीलाई अत्याधुनिक प्रविधियुक्त बनाउन र खोला-किनारका जोखिमपूर्ण बस्तीलाई वैकल्पिक सुरक्षित स्थानमा सार्न सरकारसँग जोडदार माग गरे।

भौतिक विनाश व्यवस्थापनका साथै जलवायु परिवर्तनले हिमाली भेगमा पारेको गम्भीर असरबारे राज्यले ठूलो लगानी गर्नुपर्ने उनको ठहर छ। विपद् व्यवस्थापनमा गृहमन्त्री आफैँ मैदानमा खटिएको कार्यको खुलेर प्रशंसा गर्दै धमलाले सकारात्मक कामको समर्थन र कमजोरीको आलोचना गर्ने परिपक्व राजनीतिक संस्कार प्रदर्शन गरे।

विपद्को यो घडीलाई धमलाले केवल शोकमा सीमित नराखी दीर्घकालीन समाधानतर्फ मोडेका छन्। हाल भएको संरचनात्मक क्षतिपूर्ति र पुनःनिर्माणका लागि ५ देखि ६ खर्ब रुपैयाँ लाग्ने यथार्थपरक आँकडा प्रस्तुत गर्दै उनले अन्तर्राष्ट्रिय जगत्‌लाई जुटाउने कूटनीतिक रणनीति अघि सारेका छन्।

नेपालले तत्कालै ‘लगानी सम्मेलन’ (Investment Summit) आयोजना गरी भारत, चीन, अमेरिका, जापान र युरोपेली संघजस्ता मित्रराष्ट्रहरूलाई एकै ठाउँमा ल्याउनुपर्ने उनको सुझाव छ। भारत र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपद्को समयमा गरेको सहयोगको खुलेर प्रशंसा गर्दै धमलाले नेपालको समृद्धिका लागि छिमेकी भारतसँगको सहकार्य अपरिहार्य रहेको स्पष्ट पारे।

बाढीपहिरोको संकट समाधानसँगै देशलाई सुशासनतर्फ लैजाने धमलाको संकल्प कायमै छ। भ्रष्टाचारीको रजगज अन्त्य नगरेसम्म पूर्वाधार विकास दिगो हुन नसक्ने भन्दै उनले युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए।

‘स्वतन्त्र नागरिक अभियान’सँग तीन करोड नेपाली जनतालाई खुसी राख्ने स्पष्ट दृष्टिकोण र योजना रहेको दाबी गर्दै धमलाले अहिलेको प्राथमिकता भने विपद् प्रभावितको उद्धार र राहत नै हुनुपर्ने बताए।

यसैबीच, राष्ट्रिय महासंकटको यो मोडमा दलगत स्वार्थभन्दा माथि उठेर सबै तह र तप्का एकजुट हुन अध्यक्ष धमलाले आह्वान गरेका छन् ।