काठमाडौं । आफूसँग भएको सम्पत्ति र स्रोतसाधन अरूको दुःखमा खर्च गर्न सक्ने मन नै सायद मानवताको सबैभन्दा ठूलो परिचय हो। आफू रित्तिएर पनि पीडामा रहेका मानिसको अनुहारमा खुसी ल्याउने प्रयास गर्ने यस्तै मनकारी व्यक्तिका रूपमा चिनिन्छन् फिटवेल गार्मेन्ट उद्योग प्रा.लि.का सञ्चालक मनोज भारती।
असहाय, विपन्न र दुःखमा परेका नागरिकका लागि भारतीले विगतदेखि नै सहयोगको हात बढाउँदै आएका छन्। देशमा संकट पर्दा आफूलाई सुरक्षित राखेर बस्नेभन्दा पीडितको घरदैलोमा पुगेर सहयोग गर्ने उनको प्रयास निरन्तर देखिँदै आएको छ।
कोभिड–१९ महामारी होस् वा विनाशकारी भूकम्प, संकटका ती कठिन दिनहरूमा समेत उनले आफ्नो व्यक्तिगत तथा व्यावसायिक स्रोतबाट सहयोग गरेका थिए। आफ्नो कमाइको ठूलो हिस्सा सामाजिक सेवामा खर्च गर्दै आएका भारतीका लागि सहयोग केवल औपचारिकता नभई मानवीय दायित्व बनेको छ।
अहिले देश फेरि ठूलो विपत्तिको सामना गरिरहेको छ। प्राकृतिक विपत्तिका कारण सयौँ परिवार पीडामा छन्। कतिपयले आफ्ना आफन्त गुमाएका छन् भने कतिपय घरबारविहीन बनेर राहतको प्रतीक्षामा छन्। यस्तो पीडादायी अवस्थामा भारती फेरि एकपटक आफूसँग भएको लाखौँ रुपैयाँ बराबरको लत्ताकपडा तथा जुत्तालगायतका सामग्री पीडित नागरिकका लागि समर्पण गर्दै राहत अभियानमा अघि बढेका छन्।
फिटवेल गार्मेन्ट उद्योग प्रा.लि. र खराउ सुज इन्डष्ट्रिज प्रा.लि.ले उत्पादन गरिएको राहत सामग्री काठमाडौंको सामाखुसीस्थित विपद् व्यवस्थापन कार्यालयमा हस्तान्तरण गरिएको हो।
उद्योगका सञ्चालक मनोज भारतीले गृह मन्त्रीका स्वकीय सचिव जेन्स कार्कीलाई सामाखुसीस्थित विपद् व्यवस्थापन कार्यालयमा पुगेर बाढी तथा पहिरो प्रभावित नागरिकका लागि ट्र्याकसुट, गेम ड्रेस, स्पोर्ट जुत्ता, टी–सर्ट, ट्राउजर, विन्डसिटरलगायतका लाखौँ रुपैयाँ बराबरका राहत सामग्री हस्तान्तरण गरेका हुन्। हस्तान्तरण गरिएको उक्त सामग्री रसुवाका बाढी तथा पहिरो प्रभावित परिवारसम्म पुर्याउने उद्देश्य राखिएको छ।
विपत्तिमा मानिसलाई सबैभन्दा बढी आवश्यक पर्ने आधारभूत सामग्रीमध्ये कपडा पनि महत्वपूर्ण हुन्छ। यही आवश्यकता महसुस गर्दै भारतीले आफ्नो गार्मेन्ट उद्योगबाट उत्पादित तथा आफूसँग उपलब्ध लत्ताकपडा पीडितसम्म पुर्याउने अभियान अघि बढाएका हुन्।
उनको यो सहयोगले विपत्तिमा परेका नागरिकलाई तत्काल राहत मात्रै दिने छैन, समाजमा अझै पनि मानवता जीवित छ भन्ने अनुभूति पनि गराउनेछ।
व्यवसाय गरेर सम्पत्ति आर्जन गर्नु सफलता हुन सक्छ, तर आफूले कमाएको सम्पत्तिबाट अरूको आँसु पुछ्न सक्नु वास्तविक सामाजिक सफलता हो भन्ने उदाहरण भारतीले प्रस्तुत गरेका छन्।
विपत्तिको समयमा आफ्नो स्वार्थभन्दा माथि उठेर पीडितको पक्षमा उभिने भारतीको यो कदमले उद्योगी–व्यवसायीहरूलाई पनि सामाजिक उत्तरदायित्वप्रति थप जिम्मेवार बन्न प्रेरणा दिने अपेक्षा गरिएको छ।
आफू रित्तिएर अरूको जीवनमा थोरै भए पनि उज्यालो थप्नेहरू नै समाजका वास्तविक मनकारी हुन्। मनोज भारतीको पछिल्लो सहयोग त्यही मानवताको एउटा उदाहरण बनेको छ।




प्रतिक्रिया