मियामी, १५ भदौ । प्रशान्त महासागरमा विकसित ‘करिना’ आँधी आइतबार तीव्र गतिमा शक्तिशाली आँधीमा परिणत भएको छ । तटबाट निकै टाढा रहेको र न्यानो समुद्री पानीका कारण शक्ति बढाइरहेको यस आँधीबाट तत्काल जमिनमा कुनै खतरा नरहेको अमेरिकी मौसमविद्हरूले बताएका छन् ।
मियामीस्थित अमेरिकी राष्ट्रिय आँधी केन्द्रका अनुसार ‘करिना’ आइतबार बिहान ८० माइल प्रतिघण्टा (१३० किलोमिटर प्रतिघण्टा) को अधिकतम निरन्तर हावाको गतिसहित श्रेणी–१ को आँधी बनेको थियो । केही घण्टामै हावाको गति १२५ माइल प्रतिघण्टा (२०५ किलोमिटर प्रतिघण्टा) पुगेपछि यो श्रेणी–३ को शक्तिशाली आँधीमा परिणत भएको हो ।
कम्तीमा १११ माइल प्रतिघण्टा (१७८ किलोमिटर प्रतिघण्टा) को अधिकतम निरन्तर हावाको गति भएका आँधीलाई श्रेणी–३ वा सोभन्दा माथिको शक्तिशाली आँधी मानिन्छ । मौसमविद्हरूले आगामी एक–दुई दिनमा ‘करिना’ अझ शक्तिशाली बन्न सक्ने बताएका छन् ।
आइतबार ‘करिना’ मेक्सिकोको बाजा क्यालिफोर्निया प्रायद्वीपको दक्षिणी छेउबाट करिब ९६० माइल (१,५४५ किलोमिटर) पश्चिम–दक्षिणपश्चिममा थियो । यो ९ माइल प्रतिघण्टा (१५ किलोमिटर प्रतिघण्टा) को गतिमा पश्चिमतर्फ अघि बढिरहेको र पूर्वानुमानअनुसार प्रशान्त महासागरको थप भित्री भागतर्फ जाने अपेक्षा गरिएको छ ।
आँधी केन्द्रका अनुसार ‘करिना’ जमिनबाट टाढै रहने सम्भावना रहे पनि यसबाट उत्पन्न ठूला छालले दक्षिणपश्चिमी मेक्सिको र बाजा क्यालिफोर्निया प्रायद्वीपका तटीय क्षेत्रमा खतरनाक समुद्री छाल तथा ‘रिप करेन्ट’ निम्त्याउन सक्छ । हाल कुनै तटीय सतर्कता वा चेतावनी जारी गरिएको छैन ।
यसैबीच, प्रशान्त महासागरमा रहेको ‘लोवेल’ नामक उष्णकटिबङ्धीय आँधी हवाईको हिलोबाट करिब ९८५ माइल (१,५८५ किलोमिटर) पूर्व–दक्षिणपूर्वमा थियो । यसको अधिकतम निरन्तर हावाको गति ५० माइल प्रतिघण्टा (८५ किलोमिटर प्रतिघण्टा) रहेको र तत्काल जमिनमा कुनै खतरा नरहेको मौसमविद्हरूले बताएका छन् । ‘लोवेल’ सोमबार राति वा मङ्गलबारसम्ममा शक्तिशाली आँधीमा परिणत हुन सक्ने पूर्वानुमान गरिएको छ । रासस




प्रतिक्रिया