काठमाडौँ। भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। भोटेकोशी नदीमा आएको बाढीले भीषण क्षति पुर्याएपछि समवेदना प्रकट गर्न उनी नेपाली दूतावास पुगेका हुन्।
दूतावास परिसर पुगेर सिंहले शोकपुस्तिकामा हस्ताक्षर गर्दै भारत सरकार र भारतीय जनताको तर्फबाट बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरे। उनले गत २६ अगस्ट २०२६ मा आएको विनाशकारी बाढीबाट भएको मानवीय क्षति र ठूलो मात्राको विनाशप्रति नेपाल सरकार र नेपाली जनताप्रति सहानुभूति प्रकट गरे।
सिंहले उक्त बाढीबाट नेपाली नागरिकका साथै भारतीय तथा अन्य विदेशी नागरिकहरूसमेत प्रभावित भएको उल्लेख गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। विपत्तिमा परेका परिवारहरूका लागि भारतको पूर्ण साथ र सहयोग रहने उनले बताए।
‘नेपालका लागि भारत सुख-दुःखको साथी’
नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धलाई स्मरण गर्दै रक्षामन्त्री सिंहले भारत नेपालका लागि ‘सुख–दुःखको साथी’का रूपमा सधैँ साथमा उभिँदै आएको स्पष्ट पारे।
यस कठिन घडीमा भारत नेपाली नागरिकसँग काँधमा काँध मिलाएर उभिएको बताउँदै उनले हाल नेपाल सरकारले गरिरहेको खोज, उद्धार तथा पुनःस्थापनाका प्रयासहरूमा सम्भव भएसम्मको सहयोग गर्न भारत प्रतिबद्ध रहेको दोहोर्याए।




प्रतिक्रिया