इटहरीको जनता माविले गर्‍यो रसुवाका बाढीपीडितलाई १ लाख ४० हजार सहयोग


इटहरी । रसुवाका बाढीपीडितका लागि जनता माध्यमिक विद्यालय, इटहरी–सुनसरीले १ लाख ४० हजार ८ सय ९ रुपैयाँ सहयोग गर्ने भएकाे छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालको अध्यक्षतामा आज बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले बाढीबाट प्रभावित रसुवाका नागरिकका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।

दंगाल सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका केन्द्रीय अध्यक्ष समेत हुन्। उनले प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुर्‍याउन देशभरका सामुदायिक विद्यालयहरूलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न अपिल गरेका छन्।

दंगालले विपद्को समयमा सामुदायिक विद्यालयहरूले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै पीडित नागरिकको साथमा उभिनुपर्ने बताए। उनले राहत तथा सहयोगका लागि देशभरका सामुदायिक विद्यालय, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा अभिभावकलाई समेत सहयोगमा जुट्न आग्रह गरेका छन्।