पोखरा महानगरपालिका : छात्रवृत्ति र भर्ना शुल्कसम्बन्धी विवरण सार्वजनिक गर्न नेविसंघको माग


पोखरा । नेपाल विद्यार्थी संघ पोखरा महानगरपालिका कार्यसमितिले पोखरा महानगरपालिकाभित्रका विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीको छात्रवृत्ति, भर्ना शुल्क र शैक्षिक शुल्कसम्बन्धी विषयमा महानगरपालिकाको ध्यानाकर्षण गराएको छ।

नेपाल विद्यार्थी संघ पोखरा महानगरपालिका कार्यसमितिका अध्यक्ष विपिन पौडेलले एक प्रेस विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८२ मा महानगरपालिका क्षेत्रभित्र रहेका विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीबाट छात्रवृत्ति, भर्ना शुल्क र शैक्षिक शुल्कका विषयमा विभिन्न गुनासो आएको उल्लेख गरिएको छ।

संघले महानगरपालिकाभित्र रहेका सम्पूर्ण विद्यालय तथा क्याम्पसमा कुल विद्यार्थीको १० प्रतिशत जेहेन्दार तथा गरिब विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने माग गरेको छ। साथै छात्रवृत्ति प्रदान गरिएका विद्यार्थीको विवरण सार्वजनिक गर्न पनि माग गरिएको छ।

त्यस्तै, एक पटक भर्ना शुल्क लिएपछि पुनः भर्ना गर्दा विद्यार्थीबाट दोहोरो भर्ना शुल्क नलिन र नयाँ शैक्षिक सत्रमा भर्ना गर्दा विद्यालय तथा क्याम्पसले मनोमानी शुल्क नलिने व्यवस्था गर्न संघले माग गरेको छ।

नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क हुने व्यवस्था गरेको स्मरण गराउँदै संघले संविधानअनुसार अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी व्यवस्था कार्यान्वयन गर्न पनि महानगरपालिकासँग आग्रह गरेको छ।

संघले आफ्ना माग सम्बोधन नभए शैक्षिक क्षेत्रमा हुने समस्या समाधानका लागि चरणबद्ध रूपमा दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने चेतावनीसमेत दिएको छ।