योग साधक साधिकाद्वारा बाढीपीडितलाई सहयोग


बागमती, १६ भदौ । पतञ्जलि योग समिति, मकवानपुरमा आबद्ध योग साधक साधिकाले नुवाकोट, रसुवा लगायतका जिल्लामा बाढीका कारण पीडित बनेका सर्वसाधारणका लागि राहत स्वरुप ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

साधक साधिकाहरुले पतञ्जली योग समिति मकवानपुरमार्फत उक्त सहयोग गरेको समितिका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिए । उनका अनुसार उक्त रकम मध्ये पतञ्जलि योग समिति नेपालले बाढी पीडितलाई लक्षित गरी विभिन्न पाँच स्थानमा सञ्चालन गरिरहेको निःशुल्क भोजनको व्यवस्थाका लागि बागमती प्रदेश समितिमार्फत २५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ हजार रुपैयाँ पठाउने व्यवस्था गरिएको उनले जानकारी दिए ।