अमेरिकी आर्थिक कारबाहीमा ईयूको समर्थनप्रति इरानको निन्दा


तेहरान, सेप्टेम्बर १६ । इरानविरुद्ध अमेरिकाले जारी गरेको आर्थिक कारबाहीमा (युरोपियन युनियन) ईयूको समर्थनप्रति निन्दा गर्दै इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले युरोपले अब रणनीतिक स्वायत्तता दाबी गर्न नसक्ने बताएका छन् ।

संयुक्त राज्य अमेरिकामा आयोजित जी–२० अर्थमन्त्रीहरू र सेन्ट्रल बैङ्कका गभर्नरहरूको बैठकमा सोमबार जारी गरिएको ईयू वक्तव्यको जवाफमा सामाजिक सञ्जाल एक्समार्फत बाघाईले यस्तो टिप्पणी गरेका हुन् ।

युरोपियन युनियनले इरानले आफ्ना गतिविधिहरू रोकी र विश्वासका साथ शान्ति वार्तामा सङ्लग्नना सुनिश्चित गर्नुपर्ने अमेरिकी दबावलाई स्वागत गरेको छ ।

यसरी वासिङ्टनको एक पक्षीय आदेश कार्यान्वयन गर्दा युरोपले आगामी दिनमा रणनीतिक स्वायत्तताको विषयमा बहस गर्न नसक्ने बाघाईले बताएका छन् ।

युरोपियन युनियनले हर्मुजको जलमार्गमा क्षेत्रीय स्थिरता र आवागमन स्वतन्त्रताको सुनिश्चित गर्न इरानसँग कूटनीतिक प्रयास जारी राख्न आह्वान गर्दै थप उपायहरूका लागि संयुक्त राज्य अमेरिका र अन्य साझेदारहरूसँग तेहरानमा दबाब कायम राख्न तयार रहेको बताएको छ ।

गत अगस्त–१९ मा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आर्थिक कारोबार गर्ने देशहरूले आर्थिक दबाव सामना गर्नुपर्ने चेतावनी दिँदै इरानलगायत इरानसँग कारोबार गर्ने देशविरुद्ध क्रूर आर्थिक कारबाहीको घोषणा गरेका थिए । रासस