काठमाडौ । नेपालको छोचेन खोलामा बनेको इम्प्याक्ट क्रेटर अर्थात् प्रभाव क्षेत्र वरपर रहेका हिमचट्टानहरू अझै भत्किने जोखिममा रहेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ ।
हिमचट्टान भत्किएमा त्यसले ठूलो सम्भावित खतरा निम्त्याउन सक्ने मन्त्रालयको आकलन छ । चिनियाँ सञ्चारमाध्यम सीसीटीभी न्युजले जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै मंगलबार यस्तो रिपोर्ट सार्वजनिक गरेको हो ।
सीसीटीभीका अनुसार दक्षिणपश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रअन्तर्गत ग्यिरोङ (केरुङ) काउन्टीमा आएको लेदोसहितको बाढीबाट उत्पन्न विपद्सँग सम्बन्धित जोखिमको निरन्तर मूल्याङ्कन गर्न मन्त्रालयले परामर्श तथा अनुगमन जारी राखेको छ ।
रिमोट सेन्सिङ तस्बिरको हालै गरिएको तुलनात्मक विश्लेषणअनुसार ग्यिरोङ साङ्पो नदी बेसिनमा यसअघि पहिचान गरिएका १४ वटा हिमतालको जलसतहमा उल्लेखनीय परिवर्तन देखिएको छैन । ती हिमताल समग्रमा स्थिर अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।
मंगलबार बिहान नेपाली समयअनुसार ५ः४५ बजे खिचिएको ड्रोन तस्बिरका आधारमा नेपालको छोचेन खोलास्थित इम्प्याक्ट क्रेटरमा जम्मा भएको पानीको अधिकांश भाग बगेर निकास भइसकेको छ । तल्लो तटीय क्षेत्रमा नदीको बहावसमेत सामान्य अवस्थामा रहेको बताइएको छ ।
यद्यपि, क्रेटर वरपर रहेका हिमनदी वा हिमखण्ड अझै भत्किन सक्ने जोखिम भने कायमै रहेको रिपोर्टमा उल्लेख छ । मन्त्रालयले उक्त क्षेत्रमा सम्भावित जोखिमबारे निरन्तर अनुगमन र मूल्याङ्कन गरिरहेको जनाएको छ ।




प्रतिक्रिया