नारायणगढ (चितवन), १६ भदौ । डिभिजन वन कार्यालय चितवनले भोटेकोशी र त्रिशूली हुँदै नारायणी नदीमा आएको बाढीले नदी किनारमा थुपारेका गोलिया काठ तथा दाउराको निगरानी तथा जफत गर्ने अभियान सुरु गरेको छ । कार्यालयले ज्यानको जोखिम मोलेर वा अवैध रूपमा नदी किनारबाट काठ संकलन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
कार्यालयका प्रमुख एवं वरिष्ठ डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यका अनुसार रसुवा बाढीका कारण पहाडी क्षेत्रका सल्ला र उत्तिस तथा तल्लो तटीय क्षेत्रका सालका ढलेका तथा बगेका काठ–दाउरा नारायणी नदी किनारमा ठूलो मात्रामा थुप्रिएका छन् । नदी किनारबाट स्थानीयवासीले जथाभावी काठ उठाउन थालेपछि वन कार्यालयले निगरानी र नियन्त्रणको काम सुरु गरेको हो । नदी किनारमा शव भेटिएका बेला मानिसले शवको वेवास्ता गर्दै काठ सङ्कलनका लागि आफ्नो ज्यानै जोखिममा पारेर नदीमा पसेका थिए ।
प्रमुख आचार्यले भने, “नदीले बगाएर ल्याएको काठ उठाउन पाइँदैन । यसरी सङ्कलन गरिएका काठ गैरकानुनी हुन्छन् । यसअघि सबै जना शव व्यवस्थापनमा केन्द्रित भएकाले काठ नियन्त्रणमा कदम चाल्न सकेका थिएनौँ । अब शव भेटिन कम भएकाले आजैदेखि नदी किनारमा रहेका काठको निगरानी र नियन्त्रण गर्ने काम सुरु गरेका छौँ ।”
विशेषगरी नारायणीको देवघाट क्षेत्रदेखि पुलचोक, भरतपुर महानगरपालिका–३ आसपास तथा नारायणी, ज्ञानेश्वर र सेतीदेवी सामुदायिक वन क्षेत्रको नदी किनारमा ठूलो मात्रामा काठ थुप्रिएको उनले बताए ।
नदीको तीव्र बहाव र जोखिमयुक्त स्थानमा प्रवेश गरी काठ निकाल्ने, तान्ने, काट्ने, ओसारपसार गर्ने, बिक्री–वितरण गर्ने वा आफ्नो स्वामित्वमा लिने कार्य नगर्न सबैलाई सूचीत गरिएको आचार्यले बताए ।
अवैध रूपमा संकलन गरिएका काठ वन कार्यालयले जफत गर्ने उनको भनाइ छ । अधिकृत आचार्यलले कसैले आफूखुसी काठ सङ्कलन, चोरी, निकासी वा बिक्री–वितरण गरेको पाइएमा वन ऐन, २०७६, वन नियमावली, २०७९ तथा अन्य प्रचलित कानुन बमोजिम कानुनी कारबाही गरिने चेतावनी दिए ।
बाढीले बगाएर ल्याएका काठ–दाउराको पहिचान, लगत सङ्कलन, नापजाँच र व्यवस्थापन वन कार्यालयबाटै गरिने भएकाले कतै काठ–दाउरा देखिएमा नजिकको वन कार्यालय, वन कर्मचारी वा सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहलाई जानकारी गराइ सहयोग गर्न डिभिजन वन कार्यालय चितवनले अनुरोध गरेको छ ।




प्रतिक्रिया