बाढीविपद्का कारण २३औँ निजामती सेवा दिवसका कार्यक्रम रद्द, बजेट उद्धार कोषमा पठाउने निर्णय


काठमाडौँ । रसुवागढीस्थित नेपाल–चीन सीमाक्षेत्रमा आएको भीषण बाढी र त्यसबाट सिर्जित विपद्का कारण सरकारले यस वर्ष मनाउन लागेको २३औँ निजामती सेवा दिवसका सम्पूर्ण निर्धारित कार्यक्रम रद्द गर्ने निर्णय गरेको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार निजामती सेवा दिवस मूल समारोह समितिको बैठकले औपचारिक कार्यक्रमहरू रद्द गर्ने निर्णय गरेको हो।

मुलुक प्राकृतिक विपद्को शोकमा रहेको र यतिबेला राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मीहरू खोज, उद्धार तथा राहत कार्यमा पूर्ण रूपमा खटिनुपर्ने संवेदनशील अवस्थालाई ध्यानमा राखेर दिवसका कार्यक्रम स्थगित गरिएको मन्त्रालयले जनाएको छ।

यसैगरी, सरकारले आगामी भदौ २२ गते मनाउन लागिएको २३औँ निजामती सेवा दिवसका लागि विनियोजित बजेट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने व्यवस्था मिलाउन सम्बन्धित सबै निकायलाई अनुरोध गरेको छ।