काठमाडौँ । बेलायतका पूर्वप्रधानमन्त्री केयर स्टार्मरले मङ्गलबार संसद् सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले अब अन्तर्राष्ट्रिय मामिलासहित रक्षा, सुरक्षा, व्यापार र प्रविधिका क्षेत्रमा ध्यान केन्द्रित गर्ने बताएका छन् ।
स्टार्मरले लन्डनको होलबोर्न र सेन्ट प्यानक्रास निर्वाचन क्षेत्रको सांसदका रूपमा ११ वर्ष सेवा गरेपछि संसद् छाड्नु ‘उपयुक्त समय’ भएको बताएका छन् । उनको राजीनामासँगै उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुनेछ ।
सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा उनले तीव्र रूपमा परिवर्तन भइरहेको विश्वमा रक्षा, सुरक्षा, व्यापार र प्रविधिलगायत अन्तर्राष्ट्रिय मामिलामा आफ्नो ध्यान केन्द्रित गर्ने बताएका छन् । साथै, महिलाविरुद्ध हुने हिंसा तथा बालिकाविरुद्धको हिंसा नियन्त्रणसम्बन्धी आफ्नो कामलाई पनि निरन्तरता दिने बताएका छन् ।
स्टार्मर सन् २०१५ मा पहिलोपटक होलबोर्न र सेन्ट प्यानक्रासबाट सांसद निर्वाचित भएका थिए । उनले सन् २०२० मा लेबर पार्टीको नेतृत्व सम्हाल्नुभएको र सन् २०२४ को आमनिर्वाचनमा पार्टीलाई ठुलो बहुमतसहित विजयी गराएका थिए ।
सन् २०२६ मा लेबर पार्टीभित्र बढ्दो असन्तुष्टि र राजनीतिक दबाबबिच स्टार्मरले पार्टी नेतृत्वबाट राजीनामा दिएका थिए । त्यसपछि उनी २० जुलाईमा प्रधानमन्त्री पदबाट पनि अलग भएका थिए । सोही दिन एन्डी बर्नहम बेलायतका प्रधानमन्त्री बनेका हुन् ।
स्टार्मरले प्रधानमन्त्री पद छाडेपछि पनि केही समय सांसदका रूपमा काम गरेका थिए । मङ्गलबारको घोषणासँगै उनले होलबोर्न र सेन्ट प्यानक्रासको प्रतिनिधित्वबाट अलग हुने भएका छन् । बेलायतको संसद् छाडेपछि उनी आफ्नो आगामी कामका रूपमा अन्तर्राष्ट्रिय मामिला तथा महिलाविरुद्धको हिंसा नियन्त्रणसम्बन्धी विषयमा केन्द्रित हुने बताइएको छ ।




प्रतिक्रिया