काठमाडौं, भदौ १७ । देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण मुख्य राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको बुधबार बिहान ६ः३० बजेसम्मको विवरण अनुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सडकमा यातायात अवरुद्ध भएको छ।
बागमती प्रदेशअन्तर्गत काभ्रेको बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण खुर्कोट–नेपालथोक–काठमाडौँ चल्ने सम्पूर्ण सवारीसाधनमा रातिको समयमा रोक लगाइएको छ । विवरणअनुसार साँझ ६ देखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक रहने र बिहान ४ देखि साँझ ६ बजेसम्म अवस्था हेरी यातायात सञ्चालन गरिनेछ।
त्यस्तै रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा बाढीका कारण त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मुख्य राजमार्गसमेत अर्को सूचना नभएसम्मका लागि बन्द रहेको प्रहरीले जनाएको छ।
नुवाकोटमा पनि बाढी तथा पहिरोका कारण टोखा–छहरे सडकखण्ड, पासाङल्हामु सडकखण्ड तथा विदुर–लच्याङ सडक प्रभावित भएका छन्। केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
यसैगरी धादिङमा पृथ्वी लोकमार्गअन्तर्गत बेनीघाट–रोराङ गाउँपालिका र गजुरी क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध भएको छ। पछिल्लो विवरणमा बेनीघाट–रोराङ क्षेत्रमा एकतर्फी सवारी सञ्चालन भइरहेको उल्लेख छ।
गण्डकी प्रदेशको लमजुङ, कर्णाली प्रदेशको मुगु तथा सुदूरपश्चिम प्रदेशको बैतडीमा समेत पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। मुगुको छायाँनाथ रारा नगरपालिका–४ ताल्चा क्षेत्रमा मुगु–गमगढी सडक तथा बैतडीको दशरथचन्द नगरपालिका क्षेत्रमा गोठालापानी–झुलाघाट सडकखण्ड प्रभावित भएका छन्।
प्रहरीले सडकको अवस्था निरन्तर परिवर्तन हुन सक्ने भएकाले यात्रु तथा सवारी चालकलाई यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र आवागमन गर्न आग्रह गरेको छ।




प्रतिक्रिया