लन्डन । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ब्रेक्सिटपछि बेलायत–इयु सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित बुधबारदेखि दुई दिने बेलायत भ्रमण सुरु गरेका छन् । उनले ऐतिहासिक बेयक्स टेपेस्ट्रीको प्रदर्शनी उद्घाटन गरेका छन् भने बिहीबार नवनियुक्त बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामसँग द्विपक्षीय वार्ता गर्नेछन् ।
बर्नह्याम प्रधानमन्त्री बनेपछि उनीसँग भेट गर्ने म्याक्रोन पहिलो इयु नेता बनेका छन् । दुई नेताबिचको वार्तामा बेलायत–इयु सम्बन्ध, आर्थिक सहकार्य, आप्रवासन तथा युक्रेनमा सहयोग प्रमुख विषय बन्ने अपेक्षा गरिएको छ । बर्नह्यामले बेलायतको सुस्त आर्थिक वृद्धिलाई गति दिन र इङ्लिस च्यानल हुँदै साना डुङ्गामा बेलायत प्रवेश गर्ने आप्रवासी रोक्न फ्रान्ससँग सहकार्य बढाउन चाहेका छन् ।
भ्रमणको सांस्कृतिक पक्षका रूपमा करिब ९५० वर्ष पुरानो बेयक्स टेपेस्ट्री लन्डनमा प्रदर्शनमा राखिएको छ । नार्मन्डीका विलियम द कन्कररले इङ्गल्यान्ड विजय गरेको इतिहास चित्रण गर्ने ११औँ शताब्दीको उक्त कलाकृति नौ शताब्दीभन्दा लामो समयपछि पहिलोपटक फ्रान्सबाहिर प्रदर्शन गरिएको हो । म्याक्रोनले टेपेस्ट्रीलाई बेलायत पठाउने पहलमा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
म्याक्रोन र पूर्वप्रधानमन्त्री कीर स्टारमरबिच युक्रेन र मध्यपूर्वलगायत विषयमा घनिष्ठ सहकार्य रहँदै आएको थियो । स्टारमर, म्याक्रोन र जर्मन चान्सलर फ्रेडरिक मर्जबीचको ‘ई–३’ सहकार्यलाई बर्नह्यामले पनि निरन्तरता दिन चाहेका छन् । यद्यपि युरोपेली राजनीतिक समीकरणमा आउन सक्ने परिवर्तनले यसमा चुनौती थप्न सक्ने देखिएको छ ।
किङ्ग्स कलेज लन्डनका प्राध्यापक आनन्द मेननले युक्रेनजस्ता विषयमा बेलायत र फ्रान्सबीच राम्रो सहकार्य भए पनि आर्थिक तथा इयु सम्बन्धका महत्त्वपूर्ण विषयमा ठोस प्रगति गर्न कठिन रहेको बताएका छन् । उनका अनुसार मैत्रीपूर्ण सम्बन्धभन्दा आर्थिक तथा राजनीतिक विषयमा हुने वास्तविक सहमति महत्त्वपूर्ण हुनेछ ।
म्याक्रोनले अमेरिकामाथिको निर्भरता घटाउँदै बलियो युरोपेली सार्वभौमिकताको पक्षमा वकालत गर्दै आएका छन् । त्यस क्रममा ब्रेक्सिटपछि पनि बेलायतलाई युरोपको सुरक्षा तथा रणनीतिक सहकार्यमा महत्त्वपूर्ण साझेदारका रूपमा राख्ने उनको प्रयास छ ।
बर्नह्यामले प्रधानमन्त्री बनेपछि युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई डाउनिङ स्ट्रीटमा स्वागत गरेका छन् र पहिलो विदेश भ्रमणमा किएभ पुगेका छन् । त्यस क्रममा उनले इयु काउन्सिलका अध्यक्ष एन्टोनियो कोस्टासँग भेट गरी बेलायत इयुको नजिक पुग्न थप साहसिक कदम चाल्नुपर्ने बताउनुभएको डाउनिङ स्ट्रीटले जनाएको छ ।
म्याक्रोनले बेलायती राजा चार्ल्स तृतीयसँग पनि भेट गर्ने अपेक्षा गरिएको छ । बिहीबार हुने म्याक्रोन–बर्नह्याम वार्ताले दुई देशबिचको सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिए पनि आर्थिक सहकार्य र बेलायत–इयु सम्बन्धमा हुने ठोस प्रगतिलाई भ्रमणको मुख्य उपलब्धिका रूपमा हेरिएको छ । एजेन्सी




प्रतिक्रिया