चीनको निष्कर्ष : हिमनदी अस्थिरताका कारण नेपालमा विपत्ति आयाे


चीनले नेपालमा हालै भएको विपत्तिको राहत तथा उद्धार प्रयासमा आफ्नो बलियो साथ र सहयोग निरन्तर राख्ने र विपद् जोखिम न्यूनीकरण तथा रोकथामका क्षेत्रमा सहकार्य थप गहिरो बनाउने जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कुओ चियाकुनले बुधबार आयोजित पत्रकार सम्मेलनमा चीन र नेपालका विज्ञहरूको संयुक्त मूल्यांकनअनुसार दीर्घकालीन जलवायु तापक्रम वृद्धिका कारण हिमनदी अस्थिर बन्दा पछिल्लो विपत्ति निम्तिएको बताएका हुन् । 

नेपाल–चीन सीमा क्षेत्रमा पर्ने तिब्बतको सिगात्से क्षेत्रमा हालै भएको हिमनदी पतन र हिमालय क्षेत्रमा बढ्दो हिमनदी पग्लिने संकटबारे चीनको धारणा तथा नेपालसहित छिमेकी मुलुकसँग ‘हिमालय परिषद्’ गठन गर्ने प्रस्तावबारे सोधिएको प्रश्नको जवाफ दिँदै कुओले यस्तो बताएका हुन् ।

उनका अनुसार नेपालमा रहेको एक हिमनदीमा बरफ र चट्टानसहित ठुलो पहिरो तीव्र गतिमा तल झरेर पहाडको भिरालो भागलाई बगाउँदै गएपछि विपत्ति निम्तिएको थियो । चीन र नेपालका सम्बन्धित विज्ञहरूले गरेको प्रारम्भिक मूल्यांकनले यस घटनाको मूल कारण दीर्घकालीन जलवायु तापक्रम वृद्धिबाट उत्पन्न हिमनदी अस्थिरता रहेको देखाएको उनले बताए ।

राहतमा चीनको सहयोग निरन्तर रहने

चीन र नेपालबिच मौसम विज्ञान, जलस्रोत तथा विपद् रोकथाम र न्यूनीकरणका क्षेत्रमा लामो समयदेखि सहकार्य हुँदै आएको कुओले बताए । विपत्तिपछि चीनले प्रभावित क्षेत्रका तस्बिर, उपग्रहबाट प्राप्त सूचना, जलविज्ञानसम्बन्धी तथ्यांक तथा माथिल्लो क्षेत्रमा बनेको अवरोधयुक्त तालसम्बन्धी पूर्वसूचनालगायत महत्त्वपूर्ण जानकारी नेपालसँग साझा गरेको उनले जानकारी दिए । ‘चीनले नेपालका विपद् राहत प्रयासमा बलियो सहयोग निरन्तर गर्नेछ र विपद् रोकथाम तथा न्यूनीकरणमा सहकार्यलाई अझ मजबुत बनाउनेछ,’ कुओले भने । 

उनका अनुसार विपद् व्यवस्थापनमा तत्काल राहत र उद्धारसँगै भविष्यमा यस्ता घटना न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली, वैज्ञानिक सूचना आदानप्रदान र जलवायुजन्य जोखिमको संयुक्त अध्ययन महत्त्वपूर्ण हुनेछ ।

जलवायु परिवर्तन सबैका लागि साझा चुनौती

कुओले जलवायु परिवर्तन सम्पूर्ण मानवजातिले सामना गरिरहेको साझा चुनौती भएको बताए । कुनै पनि देश यसबाट अछुतो रहन नसक्ने उनको भनाइ थियो । चीनले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर आदानप्रदान र सहकार्यलाई निरन्तरता दिने तथा जलवायु परिवर्तनका प्रतिकूल प्रभावलाई प्रभावकारी रूपमा रोकथाम र न्यूनीकरण गर्न प्रयास गर्ने उनले बताए । 

नेपालले हिमालय क्षेत्रमा बढ्दो जलवायु जोखिमलाई सम्बोधन गर्न छिमेकी मुलुकहरूको संयुक्त संयन्त्रका रूपमा ‘हिमालय परिषद्’ गठन गर्नुपर्ने प्रस्ताव अघि सारेको सन्दर्भमा कुओले भने, ‘तपाईंले उल्लेख गर्नुभएको विशेष प्रस्तावका विषयमा सम्बन्धित सक्षम निकायसँग प्रश्न गर्न सक्नुहुन्छ ।’ 

चीनको पछिल्लो भनाइले हिमालय क्षेत्रमा बढ्दो हिमनदी अस्थिरता र त्यसबाट उत्पन्न हुने बाढी, पहिरो तथा अन्य विपद्को जोखिमलाई नेपाल र चीनबिचको सहकार्यको महत्त्वपूर्ण विषयका रूपमा अघि बढाउने संकेत गरेको छ । एजेन्सी