काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहका लागि सरकारले १३ करोड ५० लाख रुपैयाँ निकासा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत दुई चरणमा गरी उक्त रकम सम्बन्धित पालिकामा पठाइएको हो।
भोटेकोसी हुँदै त्रिशूली नदीमा बाढी आएलगत्तै सरकारले प्रारम्भिक उद्धार तथा राहतका लागि रसुवा र नुवाकोटलाई एक–एक करोड तथा धादिङलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो। तत्पश्चात् प्राधिकरणमार्फत भदौ १२ गते ६ करोड ५० लाख र भदौ १६ गते थप ६ करोड ५० लाख रुपैयाँ निकासा गरिएको छ।
पालिकागत बजेट विवरण:
- रसुवा: गोसाइँकुण्ड गाउँपालिका (२ करोड), उत्तरगया गाउँपालिका (१ करोड ५० लाख), कालिका गाउँपालिका (६० लाख) र आमा छोदिङ्मो गाउँपालिका (४० लाख)।
- नुवाकोट: विदुर नगरपालिका (३ करोड), बेलकोटगढी नगरपालिका (१ करोड ५० लाख), तारकेश्वर गाउँपालिका (१ करोड) र किस्पाङ गाउँपालिका (५० लाख)।
- धादिङ: गल्छी गाउँपालिका (६० लाख), सिद्धलेक गाउँपालिका (४० लाख), गजुरी गाउँपालिका (४० लाख) र बेनिघाट रोराङ गाउँपालिका (४० लाख)।
- गोरखा: गण्डकी गाउँपालिका (४० लाख)।
- तनहुँ: देवघाट गाउँपालिका (४० लाख) र आँबुखैरनी गाउँपालिका (४० लाख)।
राहत कोषमा ६ अर्बभन्दा बढी मौज्दात
यसैबीच, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म कुल ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको छ। भदौ १६ गते विपद् व्यवस्थापन प्राधिकरणलाई रकम निकासा गरिएपछि हाल उक्त कोषमा ६ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ मौज्दात रहेको छ। साथै, प्रधानमन्त्री राहत कोषमा थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलरसमेत जम्मा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।




प्रतिक्रिया