‘एकपटकको नेपाली सधैँको नेपाली हुनुपर्छ,वंशजका आधारमा नागरिकता दिन कन्जुस्याइँ नगरौँ’ : ऋषि धमला


काठमाडौँ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले विदेशमा रहेका नेपालीलाई वंशजको आधारमा नागरिकता दिनुपर्ने बताएका छन्। विश्वभर छरिएर रहेका नेपालीको मन नेपालमै रहेको भन्दै गैरआवासीय नेपालीलाई देश निर्माणमा प्रत्यक्ष सहभागी हुने वातावरण बनाउनुपर्ने उनले बताए ।

‘एकपटकको नेपाली सधैँको नेपाली हुनुपर्छ। विदेशमा बस्दैमा नेपालीले आफ्नो देशप्रतिको माया र जिम्मेवारी भुल्दैन,’ धमलाले भने।

‘गैरआवासीयलाई नागरिकता चाहिएको कि नेपाललाई गैरआवासीय?’ विषयमा बुधबार काठमाडौँमा आयोजित छलफल कार्यक्रममा बोल्दै धमलाले विदेशमा रहेका नेपालीलाई नागरिकताको अधिकारबाट वञ्चित गर्न नहुने धारणा राखेका हुन् ।

उनका अनुसार विश्वका विभिन्न देशमा रहेका नेपालीमध्ये धेरै देशलाई बुझेका, असल, इमानदार र बौद्धिक नागरिक छन्। उनीहरू विदेशमा रहे पनि नेपालको उन्नति, विकास र समृद्धिको चाहना राख्ने गरेको धमलाको भनाइ छ।

‘देशलाई माया गर्ने नेपालीहरू विश्वभर छरिएर बसेका छन्। उनीहरू देश विकासमा योगदान गर्न चाहन्छन्। तर नागरिकताको कारण प्रधानमन्त्री, मन्त्रीलगायतका जिम्मेवारीमा पुग्न सक्दैनन् ,’ उनले भने।

प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङलाई लक्षित गर्दै उनले देश बनाउने र विकास गर्ने हो भने वंशजको आधारमा नागरिकता दिने विषयमा कन्जुस्याइँ गर्न नहुने बताए।

‘प्रधानमन्त्री बालेन शाह ज्यू र गृहमन्त्री सुधन गुरुङ ज्यू, देश बनाउने हो, देश विकास गर्ने हो भने वंशजको आधारमा नागरिकता दिन कन्जुस्याइँ गर्नु हुँदैन। एकपटकको नेपाली सधैँको नेपाली हुनुपर्छ,’ धमलाले भने।

उनले नेपाल विपत्तिमा पर्दा विदेशमा रहेका नेपालीहरूले निरन्तर सहयोग गर्दै आएको स्मरण गरे। रसुवाको भोटेकोसीमा आएको बाढीपछि पनि विदेशमा रहेका नेपालीहरूले सहयोग गरिरहेको भन्दै धमलाले उनीहरूमा नेपालप्रतिको गहिरो चिन्ता रहेको बताए।

कार्यक्रमको सुरुवातमा धमलाले रसुवा, नुवाकोट र धादिङ पुगेर बाढी प्रभावित क्षेत्रको अवस्था बुझेर आफू फर्किएको जानकारी गराउँदै बाढीबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरे। उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको खोजीलाई तीव्र बनाउन सरकारसँग आग्रह गरे।

धमलाले भोटेकोसीमा आएको बाढीलाई आफूले देखेको अवस्थाका आधारमा ठूलो प्राकृतिक विपत्तिका रूपमा चित्रण गरे। उनले बेत्रावती क्षेत्रको अवस्था अत्यन्तै भयावह रहेको भन्दै विपत्तिको समयमा देशभित्र र विदेशमा रहेका सबै नेपाली एकजुट हुनुपर्ने बताए।