काठमाडाैँ । न्युजिल्यान्डको केन्द्रीय बैंकले बुधबार आफ्नो आधिकारिक नगद दर २५ आधार अंकले बढाएर २.७५ प्रतिशत पुर्याएको छ। जुन त्रैमासिकमा वार्षिक मुद्रास्फीति बढेर ४.१ प्रतिशत पुगेपछि बैंकले यस्तो निर्णय गरेको हो। मध्यपूर्वमा जारी द्वन्द्वका कारण इन्धनको मूल्य बढ्नु मुद्रास्फीति वृद्धिको प्रमुख कारण बनेको छ।
न्युजिल्यान्डको रिजर्भ बैंकको मौद्रिक नीति समितिले मुद्रास्फीतिलाई २ प्रतिशतको लक्ष्यको मध्यबिन्दुतर्फ फर्काउन तथा आर्थिक वृद्धि र रोजगारीलाई समर्थन गर्न मौद्रिक प्रोत्साहन क्रमशः हटाउनु उपयुक्त हुने जनाएको छ ।
समितिका अनुसार, जुन त्रैमासिकमा कमजोर आर्थिक वृद्धि भए पनि न्युजिल्यान्डको आर्थिक पुनरुत्थान सम्भवतः पुनः सुरु भएको छ । व्यापारिक साझेदार मुलुकहरूबाट आएको बलियो माग र उच्च निर्यात मूल्यले निर्यातमा निर्भर क्षेत्र तथा प्रदेशमा आम्दानी वृद्धि र लगानीलाई सहयोग गरिरहेका छन् ।
तर कमजोर आम्दानी वृद्धि, रोजगारीको असुरक्षा र घरको मूल्यमा आएको स्थिरताले घरपरिवारको खर्च तथा आवासीय लगानीमा दबाब कायम राखेको छ । यसको प्रभाव विशेषगरी देशको सबैभन्दा ठूलो सहर अकल्यान्ड र राजधानी वेलिङ्टनमा देखिएको समितिले जनाएको छ।
समितिले आगामी दिनमा आर्थिक पुनरुत्थान थप बलियो र व्यापक हुने अपेक्षा गरेको छ । निर्यात क्षेत्र लचिलो रहने तथा घरपरिवारको खर्च क्रमशः बढ्दै जाने उसको अनुमान छ।
आर्थिक पुनरुत्थानले गति लिएसँगै श्रम बजारको अवस्था पनि सुधार हुने र मुद्रास्फीति २ प्रतिशतको लक्ष्यको मध्यबिन्दुमा फर्किएपछि जनताको क्रयशक्ति बढ्ने समितिले जनाएको छ । साथै, आगामी मौद्रिक नीतिका निर्णयहरू मध्यम अवधिको मुद्रास्फीतिमा रहेका जोखिमहरूबीचको सन्तुलनबारे समितिको मूल्याङ्कनमा निर्भर रहने बताइएको छ।
न्युजिल्यान्डकी अर्थमन्त्री निकोल विलिसले एक वक्तव्यमा भने, “अघिल्ला केही आर्थिक सुधारका चरणभन्दा फरक, यसपटकको पुनरुत्थान घरको मूल्य बढ्नुको सट्टा निर्यात क्षेत्रबाट अघि बढिरहेको छ । यो भविष्यका लागि सकारात्मक सङ्केत हो।”रासस/ सिन्ह्वा




प्रतिक्रिया