काठमाडौं, भदौ १८ । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण राजधानीलाई विभिन्न जिल्ला जोड्ने प्रमुख सडकमार्गमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले बिहीबार बिहान ६ः३५ बजे सार्वजनिक गरेको विवरणअनुसार केही सडकखण्ड पूर्ण रूपमा बन्द छन् भने केहीमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।
काठमाडौँ–धादिङ जोड्ने सडकअन्तर्गत चन्द्रागिरि नगरपालिका–२ चिसोपानीमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा छ। यस्तै, बाढीको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको काभ्रे खण्डमा रातको समयमा १० टनसम्मका मालवाहक सवारीलाई मात्र सञ्चालन अनुमति दिइएको छ। दिउँसो भने सडकको अवस्था हेरेर मात्रै सवारी सञ्चालन गरिने प्रहरीले जनाएको छ।
रसुवा जाने त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकअन्तर्गत उत्तरगया–५ खाल्टेमा बाढीले सडक पूर्ण रूपमा अवरुद्ध पारेको छ। उक्त सडक लामो समयसम्म सञ्चालनमा आउन नसक्ने अवस्था रहेको जनाइएको छ। त्यस्तै, टोखा–छहरे तथा पासाङ ल्हामु राजमार्गमा बाढी र पहिरोको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। केही स्थानमा भने सडक पूर्ण रूपमा ठप्प रहेको प्रहरीले जनाएको छ।
यात्रुको बढी चाप रहने पृथ्वी राजमार्गमा समेत पहिरोका कारण यातायात अस्तव्यस्त बनेको छ। धादिङको कृष्ण भिरमा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द छ। परेवा भिरमा साना सवारी साधनलाई मात्र एकतर्फी आवागमनको व्यवस्था गरिएको छ। जवाखोला र कमेरेभिरमा पनि पहिरोका कारण सडक एकतर्फी मात्र सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
प्रहरीले वर्षा र पहिरोको जोखिम कायमै रहेकाले अत्यावश्यकबाहेक यात्रा नगर्न तथा यात्रामा निस्कनुअघि सडकको पछिल्लो अवस्था बुझेर मात्र प्रस्थान गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।





प्रतिक्रिया