भोटेकोशीको विनाशपछि त्रिशूली-३ ‘ए’ मा सफाइको सकस: सुरुङको भित्री संरचना सुरक्षित रहेको अनुमान


काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले क्षति पुर्‍याएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ प्रवेशद्वारमा थुप्रिएको लेदो सफाइ कार्यलाई तीव्र पारिएको छ। बाढीपछि १६० मिटर लामो सुरुङको प्रवेशद्वारमा ठूलो मात्रामा थुप्रिएको लेदो, ढुंगा तथा संरचनाका भग्नावशेष हटाउन प्राविधिक टोली चौबीसै घण्टा खटिएको छ।

प्रवेशद्वार क्षेत्रमा अवरोध बनेका दुई दर्जनभन्दा बढी ठूला बोल्डरहरू नियन्त्रित विष्फोटमार्फत हटाइसकिएको छ।

भदौ १३ गतेदेखि दुईवटा एक्स्काभेटर, ब्रेकर र नियन्त्रित विस्फोटक पदार्थको प्रयोग गरी निरन्तर काम भइरहेको छ। ५ दिनको अवधिमा आयोजनास्थलबाट करिब २० हजार घनमिटर लेदो, बालुवा, कंक्रिटका स्ल्याब, बिम, पिलर र ठूला बोल्डर पन्छाइएको छ। हालसम्म सुरुङको प्रवेशद्वारको माथिल्लो भागबाट करिब २.५ मिटर तलसम्मको ५० मिटर क्षेत्र सफा भइसकेको छ। कुल ५.५ मिटर अग्लो सुरुङको बाँकी गहिराइमा पहुँच र पानी निकास संरचना निर्माण गरेपछि मात्र भित्री सफाइ सुरु गरिनेछ।

प्रारम्भिक अवलोकनअनुसार प्रवेशद्वारबाट करिब एक मिटरसम्मको भाग लेदोले भरिएको छ। तर, सुरुङबाट प्रतिसेकेन्ड करिब दुई लिटर मात्र पानी बाहिर निस्किरहेको र पानीको दबाब नरहेकाले भित्री भागमा ठूलो मात्रामा पानी नजमेको सङ्केत मिलेको छ।

प्रवेशद्वारको बाहिरी भागमा गेटको स्ल्याब, काठका ठुटा र बोल्डरले अवरोध सिर्जना गरे पनि सुरुङभित्र लेदोबाहेक ठूला ढुंगा प्रवेश नगरेको अनुमान छ। १६० मिटर लामो यो सुरुङ पावरहाउसतर्फ उकालो परेको र प्रवेशद्वारबाट ६० मिटरको दूरीमा घुम्ती रहेकाले पनि भित्री भौतिक संरचना सुरक्षित रहेको मानिएको छ।

बाढीका कारण घटनास्थलसम्मको सडक पहुँच पूर्णरूपमा विच्छेद भएकाले आवश्यक मेसिन, उपकरण र मर्मत सामग्री हेलिकप्टरबाट पुर्‍याउनुपर्ने बाध्यता छ। प्राविधिक सामग्री व्यवस्थापनमा केही समय लागे पनि सफाइ तथा पुनरुत्थानको कामलाई प्राथमिकताका साथ अघि बढाइएको आयोजनाले जनाएको छ।