बाढीपहिरोबाट यी सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित


काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण विषेश गरी वाग्मती प्रदेशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणानुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् । केहीमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ ।

त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्डअन्तर्गत रसुवाको उत्तरगया गाउँपालिका–५, खाल्टेलगायत विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ ।

टोखा–छहरे तथा पासाङल्हामु सडकखण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका–घट्टेखोलामा राति १० देखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । बेत्रावती नगरपालिका–१०, सिमटारमा सडक पूर्ण रूपमा अवरुद्ध छ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, कृष्णभीरमा त्रिशूली नदीले बाटो कटानका कारण सडक अवरुद्ध छ । गजुरी गाउँपालिका–२, परेवाभीरमा साना सवारीसाधन एक लेनबाट सञ्चालन भइरहेका छन् । ज्वाडखोला र कमेरेभीरमा पहिरो हटाई एकतर्फी सवारी सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं–धादिङ सडकखण्डअन्तर्गत चन्द्रागिरि नगरपालिका–२, चिसापानीमा बुधबार (भदौ १७) राति पहिरो हटाएपछि अहिले एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी क्षेत्रमा बाढीको जोखिमलाई ध्यानमा राखी सवारी सञ्चालनमा समयसीमा निर्धारण गरिएको छ । साँझ ७ देखि बिहान ५ बजेसम्म १० टनसम्मका मालवाहक सवारी सञ्चालन गर्न दिइएको छ । बिहान ४ देखि साँझ ६ बजेसम्म अवस्था मूल्यांकन गरी अरू सवारी सञ्चालन गर्न अनुमति दिइएको छ ।

प्रहरीले यात्रामा निस्कनुअघि सडकको अवस्था बुझ्न तथा जोखिमयुक्त क्षेत्रमा रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । रासस