थप आक्रमण गर्ने ट्रम्पको चेतावनीबिच इरानमा मर्नेको संख्या १८ पुग्यो


तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप आक्रमण गर्ने चेतावनी दिइरहेका छन् । आफूले चाहेको जुनसुकै समयमा इरानमा धावा बोल्ने सक्ने ट्रम्पको धम्कीका बिच अमेरिकी आक्रमणमा परेर इरानमा मर्नेको संख्या १८ जना पुगेको छ ।

पछिल्लो आक्रमणमा कम्तीमा १०८ जना घाइते भएका छन् । अमेरिका र इरानबिच जुलाईयता सबैभन्दा ठुलो आक्रमण प्रत्याक्रमण भइरहँदा ट्रम्पले बुधबार सो धम्की दिएका थिए ।

अमेरिकी सेनाले इरानको दक्षिणी तटनजिकका सहर र आसपासका क्षेत्रमा आक्रमण गरेका थिए । यस क्रममा बुधबार कुहेस्तक सहरमा एउटा बिहे घरमा समेत मिसाइल प्रहार भएको थियो । यस आक्रमणको प्रतिकारमा इरानले बहराइन, इराक र जोर्डनलगायत पश्चिम एसियाली देशमा रहेको अमेरिकी सैन्य शिविरमा आक्रमण गरेको थियो ।

गए राति उनीहरूलाई हामीले निकै कडासँग प्रहार गर्‍यौ,’ ह्वाइट हाउसमा बोल्ने क्रममा ट्रम्पले भनेका थिए । यी आक्रमणमा स्टेट अफ होर्मुजमा इरानले बनाइरहेका सबै नयाँ उपकरण ध्वस्त भएको उनले बताए ।

‘गए रातिको आक्रमण निकै कडा थियो । र हामीले अर्को यस्तै आक्रमणको तयारी गरिरहेका छौँ ।’ यी आक्रमण आफूले चाहेको जुनसुकै समयमा हुन सक्नेमा जोड दिँदै ट्रम्पले भने ।

बुधबार अमेरिकी आक्रमणमा मर्नेमा दुई बालबालिका रहेको इरानी स्वास्थ्य मन्त्री मोहमद–रेजा जफारघन्डीले भने । कुहेस्तकको बिहे घरमा चार वर्षको बालकसहित कम्तीमा चार जनाको मृत्यु भएको पनि उनले बताए । कुहेस्तक आक्रमणलाई इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागाईले युद्ध अपराध भनेका छन् । एजेन्सी