काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवा बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सहयोग गर्न सक्ने सबैलाई आ–आफ्नो ठाउँबाट जुट्न आग्रह गरेका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले विपत्तिको समयमा मानवीय संवेदनालाई प्राथमिकता दिनुपर्ने बताए। उनले सहयोग गर्न नसक्नेहरूले समेत प्रभावितको पीडामाथि कटु टिप्पणी नगर्न आग्रह गरे।
‘सहयोग गर्न सक्ने सहयोगमा जुटौं । सहयोग गर्न सक्दैनौं भने पनि कम्तीमा कटु वचन कसैले नबोलौं,’ थापाले भने। केही दिनअघि रसुवा बाढीबाट प्रभावित धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरेका थापाले बाढीले पुर्याएको क्षति बाहिरबाट अनुमान गरेभन्दा निकै ठूलो रहेको बताए।
उनका अनुसार बाढीका कारण ठूलो संख्यामा घरबार प्रभावित भएका छन् भने धेरै परिवार विस्थापित हुने अवस्थामा पुगेका छन्। प्रभावित क्षेत्रमा प्रत्यक्ष पुगेपछि मात्र विपत्तिको वास्तविक गम्भीरता बुझ्न सकिने उनको भनाइ छ।
‘यो यति ठूलो प्रलय, यति ठूलो विपत्ति हो कि यति धेरै घरबार उजाड गरेको छ, यति धेरै परिवार र मानिस प्रभावित हुनुभएको छ,’ उनले भने, ‘फिल्डमा गएपछि मात्रै यसको वास्तविक अवस्था थाहा हुन्छ। बाहिरबाट हेर्दा यसको आकलन गर्न सकिँदैन।’
थापाले विपत्तिको सामना गर्न सरकार, राजनीतिक दल, स्थानीय तह, प्रदेश सरकार र नागरिक समाजलगायत सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए। संकटका बेला आरोप–प्रत्यारोपभन्दा उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
स्थलगत निरीक्षणका क्रममा देखिएका समस्या, प्रभावितका गुनासा तथा राहत र उद्धारको अवस्थाबारे कांग्रेसले विस्तृत प्रतिवेदन तयार गर्ने उनले जानकारी दिए। ‘पार्टीको तर्फबाट फिल्डमा गएर हामीले जे–जे कुरा देखेका छौं, त्यसका आधारमा सरकारले गर्नुपर्ने र अर्को चरणमा हामीले गर्नुपर्ने कामलगायत विषय समेटेर विस्तृत रिपोर्ट बनाएर सार्वजनिक गर्नेछौं,’ थापाले भने।
उनले बाढी प्रभावित क्षेत्रमा स्थानीय तह र प्रदेश सरकारबाट भइरहेको उद्धार तथा राहत प्रयासको समेत प्रशंसा गर्दै विपत्तिको यो समयमा सबैले एकताबद्ध भएर प्रभावित नागरिकलाई साथ दिनुपर्नेमा जोड दिए।




प्रतिक्रिया