चिनियाँ एजेन्ट बनेको आरोपमा पत्रकारलाई जेल सजाय


वासिङ्टन, १८ भदौ । चिनियाँ सरकारका लागि अमेरिकाभित्र गैरकानूनी रूपमा विदेशी एजेन्टका रूपमा काम गरेको अभियोगमा अमेरिकी पत्रकार थोमस वेयर पाउकेन द्वितीयलाई सङ्घीय अदालतले दुई वर्ष जेल सजाय सुनाएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ ।

एकाउन्न वर्षीय पाउकेनले यस वर्षको सुरुआतमा अभियोग स्वीकार गरेको थियो । अदालतले उनलाई जेल सजायपछि ३६ महिना निगरानीमा राख्ने र सो अवधिमा विदेश यात्रा गर्न नपाउने आदेशसमेत दिएको छ । उनका वकिल चार्ल्स बर्नह्यामका अनुसार पाउकेनले फैसलाविरुद्ध अपिल नगर्ने निर्णय गरेको छ ।

वासिङ्टन र बेइजिङबीच तनाव बढिरहेका बेला चिनियाँ सरकारका लागि कानूनी रूपमा आवश्यक खुलासा नगरी काम गरेको आरोपमा भएको यो पछिल्लो अमेरिकी सङ्घीय अभियोजन हो । राष्ट्रिय सुरक्षाका लागि सहायक महान्यायाधिवक्ता जोन ए। आइसेनबर्गले पाउकेनले चिनियाँ राज्य सुरक्षा मन्त्रालय (एमएसएस) का लागि संवेदनशील सूचना सङ्कलन, व्यक्ति भर्ती र अन्य गतिविधिमा सहयोग गरेको आरोप लगाए ।

पाउकेनले सन् २०१० मा चीन गएपछि सिसिटिभीसहित विभिन्न चिनियाँ सञ्चारमाध्यममा पत्रकारका रूपमा काम गरेको थियो । सन् २०२४ देखि उनी चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वामा सम्पादकका रूपमा कार्यरत थिए ।

अदालतमा पेस गरिएको शपथपत्रअनुसार कम्तीमा सन् २०१९ देखि पक्राउ पर्नुअघिसम्म पाउकेनले ‘क्याथी’ नामले चिनिने एक व्यक्तिको निर्देशनमा काम गरेको थियो । न्याय मन्त्रालयका अनुसार उनले उक्त कामबापत कम्तीमा एक लाख अमेरिकी डलर प्राप्त गरेको थियो । उनलाई संवेदनशील सूचना उपलब्ध गराउन सक्ने व्यक्तिहरू भर्ती गर्नसमेत निर्देशन दिइएको थियो ।

पाउकेनले चिनियाँ पक्षलाई कुनै वर्गीकृत सूचना नदिएको उनका वकिलले बताएको छ । पाउकेनले भने आफूमाथिको जिम्मेवारी स्वीकार गर्दै अदालतको सजाय सम्मान गरेको छ ।

अमेरिकी अधिकारीहरूले उनलाई जनवरी २०२५ मा अमेरिका फर्कने क्रममा रोकेर सोधपुछ गरेका थिए । उनलाई गत फेब्रुअरीमा पक्राउ गरिएको थियो ।

टेक्सासका पाउकेनले चीनमा काम गर्दा ‘टम म्याकग्रेगर’ उपनामसमेत प्रयोग गरेको थियो । उनले अमेरिका–चीन सम्बन्ध र चीनको सेन्जेन सहरबारे दुई पुस्तक प्रकाशित गरेको छ । रासस