काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउने आफ्ना कर्मचारीका परिवारलाई प्रतिपरिवार २५ लाख रुपैयाँ तत्काल राहत उपलब्ध गराउने घोषणा गरेको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको अध्यक्षतामा बिहीबार बसेको परामर्श समितिको बैठकले उद्धार, राहत र संगठनको तर्फबाट गरिने सहयोगका सम्बन्धमा यस्तो निर्णय गरेको हो ।
सशस्त्र प्रहरी बलका सम्पूर्ण राष्ट्रसेवकहरूको तर्फबाट ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १५ करोड ५० लाख रुपैयाँ योगदान गर्ने निर्णय गरिएको छ ।
यसका लागि महानिरीक्षक र अतिरिक्त महानिरीक्षकहरूले १५ दिनको, नायव महानिरीक्षक र वरिष्ठ उपरीक्षकले १२ दिनको, उपरीक्षकदेखि निरीक्षकसम्मले १० दिनको, जुनियर अधिकृतले ७ दिनको, हवल्दारदेखि जवानसम्मले ५ दिनको र परिचरले ३ दिनको तलब बराबरको रकम जम्मा गर्नेछन् ।
मृतक परिवारका लागि विशेष प्याकेज
भदौ १० गतेको बाढीमा परी वीरगति प्राप्त गर्ने सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका लागि संगठनले निम्न सुविधा घोषणा गरेको छ:
१. आर्थिक राहतः राष्ट्रसेवकहरूको तर्फबाट १५ लाख र सरकारी मापदण्ड बमोजिम १० लाख गरी कुल २५ लाख रुपैयाँ तत्काल उपलब्ध गराइने ।
२. ऋण मिनाहाः मृतक कर्मचारीले कल्याण कोषबाट लिएको ऋणको बाँकी सम्पूर्ण रकम मिनाहा गरिने।
३. शिक्षाः मृतकका सन्तानहरूलाई नेपाल ए.पी.एफ. स्कूलमा कक्षा १० सम्म पूर्ण रूपमा ‘शैक्षिक शुल्क छुट’ दिइने ।
४. सीप र तालिमः आश्रित परिवारका १/१ जना सदस्यलाई स्वरोजगारका लागि सिपमूलक तालिम प्रदान गरिने ।
स्मारक निर्माण र बाँच्न सफललाई पुरस्कार
बाढीका कारण ज्यान गुमाउने सशस्त्र प्रहरी कर्मचारीहरूको सम्झनामा संगठनले उपयुक्त स्थानमा स्मारक निर्माण गर्ने भएको छ ।
साथै सोही दिन बाढीमा परेर पनि ज्यान जोगाउन सफल भएका ५ जना सशस्त्र प्रहरी कर्मचारीलाई प्रोत्साहन स्वरूप जनही ५० हजार रुपैयाँ पुरस्कार दिइने भएको छ।
बाढीमा सशस्त्र प्रहरी कर्मचारीका परिवारका सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति १ लाख रुपैयाँ दिइनेछ । त्यस्तै, बाढी प्रभावित अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा १ लाख, घरबारविहीन भएमा १ लाख र घाइते भएमा ५० हजार रुपैयाँसम्म सहयोग गर्ने निर्णय सशस्त्र प्रहरीले गरेको छ।




प्रतिक्रिया