देशभर भव्यरूपमा मनाइँदै श्रीकृष्ण जन्माष्टमी, पाटनको कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो


काठमाडौँ। भगवान् श्रीकृष्णको जन्मोत्सवका अवसरमा आज देशभर धार्मिक तथा सांस्कृतिक कार्यक्रम गरी श्रीकृष्ण जन्माष्टमी पर्व उत्साहका साथ मनाइँदै छ।

जन्माष्टमीका अवसरमा बिहानैदेखि ललितपुरस्थित ऐतिहासिक पाटन कृष्ण मन्दिरसहित देशका विभिन्न भागमा रहेका श्रीकृष्ण मन्दिरहरूमा पूजा–अर्चना र दर्शनका लागि भक्तजनको ठूलो घुइँचो लागेको छ। मन्दिर परिसरमा लामो लाइनमा बसेका श्रद्धालुहरू भजन–कीर्तन गर्दै र श्रीकृष्णको नाम जप गर्दै दर्शनको प्रतीक्षा गरिरहेका छन्।

पाटनको कृष्ण मन्दिरमा दर्शनका लागि आउने भक्तजनको अत्यधिक भीडलाई ध्यानमा राख्दै पूजा व्यवस्थापन र सुरक्षा व्यवस्था कडा पारिएको छ। काठमाडौँ उपत्यकाका साथै मोफसलका विभिन्न कृष्ण मन्दिरहरूमा पनि बिहानैदेखि श्रद्धालुहरूको विशेष चहलपहल र उत्सवमय वातावरण देखिएको छ।

हिन्दु धर्मावलम्बीहरूले भगवान् श्रीकृष्णलाई धर्म, सत्य, प्रेम र निष्काम कर्मका प्रतीकका रूपमा श्रद्धापूर्वक पूज्ने गर्छन्। महाभारत युद्धका क्रममा अर्जुनलाई दिएको उपदेशमार्फत श्रीकृष्णले भक्तियोग, ज्ञानयोग र कर्मयोगको सार्वकालिक मार्गदर्शन गरेको धार्मिक विश्वास रहँदै आएको छ।

जन्माष्टमीका दिन भक्तजन दिनभर निराहार व्रत बस्ने, कृष्ण मन्दिरहरूमा पूजा-अर्चना र आरती गर्ने तथा भजन-कीर्तनमा सहभागी हुने गर्छन्। मध्यरातमा भगवान् श्रीकृष्णको अवतार भएको मानिने भएकाले सोही समयमा जन्मोत्सव मनाउने परम्परा छ। यस अवसरमा विभिन्न मन्दिर तथा धार्मिक सङ्घ-संस्थाहरूमा विशेष पूजा, धार्मिक प्रवचन र सांस्कृतिक कार्यक्रमहरूसमेत आयोजना गरिएका छन्।

नेपालसहित विश्वभर रहेका हिन्दु धर्मावलम्बीहरूले आजको दिनलाई विशेष निष्ठा, श्रद्धा र भक्तिपूर्वक जन्माष्टमी पर्वका रूपमा मनाइरहेका छन्।