किभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर र स्टिभ विटकफले उनको विशेष दूतका रुपमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग रूस–युक्रेन युद्ध अन्त्य गर्ने विषयमा महत्वपूर्ण वार्ता गरेका छन् ।
आइतबार भएको यो वार्ता सन् २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि अमेरिकी दूतहरूको पहिलो किभ भ्रमणका क्रममा भएको हो । त्यसको एक दिनअघि कुशनर र विट्कफले मस्को पुगेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका थिए ।
वार्तापछि छलफल अर्थपूर्ण, महत्वपूर्ण र विस्तृत रहेको विटकफले बताए । आगामी दिनमा पनि वार्तालाई निरन्तरता दिने उनको भनाइ छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उद्देश्य अहिलेको युद्ध अन्त्य गर्ने मात्र नभई दीर्घकालीन र टिकाउ शान्तिका लागि आवश्यक वातावरण र व्यवस्था निर्माण गर्नु रहेको कुशनरले बताएका छन् । मस्को र किभको भ्रमणबाट आफूहरूले धेरै कुरा सिकेको उनले बताए।
अमेरिकी प्रतिनिधिमण्डलको युक्रेन भ्रमणलाई महत्वपूर्ण कदमका रूपमा लिँदै युद्ध अन्त्य गर्न सकिने सबै प्रयास गर्नुपर्ने जेलेन्स्कीले बताए । अमेरिकी र युरोपेली साझेदारसँग थप सहकार्यको अपेक्षा रहेको पनि उनले उल्लेख गरे । वार्तामा बेलायत, फ्रान्स र जर्मनीका राष्ट्रिय सुरक्षा सल्लाहकारहरू पनि सहभागी थिए । जेलेन्स्कीले युरोपेली साझेदारहरू युक्रेनसँग एउटै पक्षमा रहेको बताएका छन् । वार्ताबाट कुनै ठोस नयाँ सहमति वा निर्णय सार्वजनिक भएको छैन ।
अल जजिराका अनुसार वार्ताका क्रममा विशेषगरी क्षेत्रीय सीमासम्बन्धी जटिल मुद्दा युक्रेन र रूसका शीर्ष नेताबीचकै तहमा समाधान गर्नुपर्ने जेलेन्स्कीको पुरानै अडान दोहोरिएको छ । जेलेन्स्कीले युद्ध आगामी जाडोयामसम्म पनि जारी रहने सम्भावना रहेको बताएका छन् । युद्ध लम्बिएमा युरोपेली साझेदारबाट निरन्तर सहयोगको अपेक्षा रहेको पनि उनले बताए । अमेरिकी दूतहरू पोल्यान्डबाट रेलमार्फत किभ पुगेका थिए । विटकफ र कुशनरले यसअघि मस्कोमा पटक–पटक भ्रमण गरे पनि युक्रेनी राजधानीमा भने पहिलोपटक प्रत्यक्ष वार्ता गरेका हुन् ।
रूसको युक्रेनमाथिको साढे चार वर्षभन्दा लामो आक्रमणका कारण लाखौं मानिस विस्थापित भएका छन् भने ठूलो मानवीय क्षति भएको छ । यसअघि ट्रम्पको पहलमा अमेरिका मध्यस्थ रहेको रूस–युक्रेन शान्ति वार्ताका विभिन्न चरण भए पनि युद्ध अन्त्य गर्ने दिशामा उल्लेखनीय प्रगति हुन सकेको छैन । ट्रम्पले शुक्रबार अमेरिकासँग नयाँ प्रस्ताव रहेको संकेत गरे पनि त्यसबारे विस्तृत जानकारी दिएका छैनन् । एजेन्सी




प्रतिक्रिया