व्यावसायिक फलफूल खेतीतर्फ किसानको आकर्षण


राँझा (बाँके), २२ भदौ । बाँके जिल्लाका किसान व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित भएका छन् । बजारमा फलफूलको माग बढ्दै गएपछि जिल्लाका विभिन्न क्षेत्रमा किसान व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।

राप्ती सोनारी गाउँपालिका–२ कचनापुर गाउँमा किसान शान्तराज गौतमले प्राकृतिक रुपमा व्यावसायीक मेवाखेती गर्दै आएका छन् । उनले आफैँ बेर्ना उमारेर प्राकृतिक रुपमा अहिले ३६० मेवाका बिरुवामा लटरम्म फल लागेको छ ।

एक बोटमा ५० केजीका दरले फल उत्पादन गर्ने लक्ष्य उनको रहेको छ । सबै खर्च कटाएर करिब चार लाख फाइदा हुने उनको अनुमान छ । अन्य खेतीमा सिँचाइको अभाव, रासायनिक मल तथा गुणस्तरीय बीउ नपाउने, उत्पादन कम हुनेदेखि समय र लागत बढी हुने गर्दा फलफूलखेती नै राम्रो भएको उनको भनाइ छ ।

बाँकेका किसानले विशेषगरी आँप, केरा, मेवा, ड्रागन फ्रुट, कागती, अनार, भुइँकटर र स्ट्रबेरीलगायत फलफूलको खेती विस्तार गर्न थालेका छन् । केही किसानले आफ्नै खेतबारीमा फलफूलका बिरुवा लगाएर उत्पादन सुरु गरेका छन् भने केहीले व्यावसायिक रूपमा बगैँचा विस्तार गरिरहेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–१९ कण्ठीपुरमा सुनिल यादवले १५ कठ्ठा क्षेत्रफल जमिनमा पाँच वर्षदेखि व्यावसायिक अम्बाखेती गर्दै आएका छन् । बैजनाथ गाउँपालिका–१ मा सर्पराज बस्नेतले परम्परागत खेतीबाट अपेक्षित आम्दानी हुन नसकेपछि विगत दुई वर्षदेखि व्यावसायिक रूपमा स्ट्रबेरीखेती गर्दै आएका छन् ।

करिब साढे छ लाख लगानी गरेर नौ हजार बिरुवा रोपिएको खेतीबाट पहिलो वर्षमै करिब १५ क्वीन्टल स्ट्रबेरी उत्पादन भएको उनले जानकारी दिए । बाँकेकै कोहलपुर नगरपालिका–१४ का हेमन्त थापाले १५ कठ्ठामा व्यावसायी स्ट्रबेरी खेती गरेका छन् भने खजुरा गाउँपालिका–२ मा सिर्जना विष्टले एक बिघामा व्यावसायिक रूपमा अम्बाखेती गर्दै आएका छन् ।

कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माका अनुसार, पछिल्लो पटक बाँकेमा किसान फलफूल खेतीतर्फ आकर्षित हुँदै गएका छन् । अहिले जिल्लामा १२÷१३ प्रकारका फलफूल खेती हुने गरेको छ ।

सूचना अधिकारी शर्माले बाँकेमा एक हजार ३०० हेक्टर क्षेत्रफलमा फलफूल खेती हुँदै आएको जानकारी दिए । उनले बाँकेमा सबैभन्दा बढी व्यावसायिक खेती आँपको हुने गरेको बताए । बाँकेमा आँप मात्रै एक हजार १५ हेक्टरमा खेती हुने गरेको छ, जसबाट ९।९७ मेट्रिकटन आँप उत्पादन हुने गरेको उनको भनाइ छ ।

उनका अनुसार, जिल्लामा ५० हेक्टरमा केरा, ४१ हेक्टरमा कागती, ३१ हेक्टरमा अम्बा, नौ हेक्टर क्षेत्रफलमा मेवाखेती हुने गरेको छ । कागती, निबुवा ८।१५ मेट्रिकटन, अम्बा ८.८७ मेट्रिकटन, मेवा १३.८५ मेट्रिकटन उत्पादन हुने गरेको छ ।

फलफूल खेतीबाट नियमित आम्दानीको सम्भावना देखिएपछि युवा किसानसमेत यसतर्फ आकर्षित भएको पाइएको वरिष्ठ कृषि प्रसार अधिकृत शर्माले बताए । बाँकेको हावापानी र माटो विभिन्न प्रकारका फलफूल खेतीका लागि उपयुक्त भएकाले व्यावसायिक उत्पादन विस्तार गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै उनले गुणस्तरीय बिरुवा, आधुनिक प्रविधि, सिंचाइ, रोग–कीरा नियन्त्रण तथा बजार व्यवस्थापनमा किसानलाई आवश्यक सहयोग हुनुपर्ने बताए ।

“बाँकेमा फलफूल खेतीको क्षेत्र विस्तार हुँदै गएमा जिल्लाको कृषि उत्पादनमा विविधता आउनुका साथै स्थानीयस्तरमै रोजगारी र आम्दानीका अवसरसमेत बढ्ने देखिन्छ”,उनले भने,“खेतीका लागि सुझाव लिन कार्यालयमा आउने किसानलाई हामीले आवश्यक सुझाव दिंदै आएका छौँ ।”

कृषि ज्ञान केन्द्रले कम्तीमा १५ कठ्ठामा फलफूल खेती गर्ने किसानका लागि पुराना बगैँचा शुद्धीकरण कार्यक्रम सञ्चालन गर्दै आएको सूचना अधिकारी शर्माले बताए ।