धनकुटामा पुराना उद्योग बन्द, नयाँ १४८ दर्ता


धनकुटा, २२ भदौ । धनकुटा जिल्लामा पुराना उद्योग बन्द गर्ने र नयाँ उद्योग स्थापना गर्नेहरुको सङ्ख्या घट्दै गएको छ । गत वर्ष १५१ उद्योग बन्द भएका छन् भने चालु आर्थिक वर्ष २०८३÷८४ मा १४८ नयाँ उद्योग दर्ता भएका छन् ।

नव युवामा उत्साह र अनुदान लगायतका सेवा पाइने भएकाले उद्योग दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख माधव बाँस्कोटाले बताए । प्रक्रिया र मापदण्डअनुसार मात्रै छनोट गरी अनुदान वितरण गर्ने गरेकाले अनुदान नपाउने व्यवसायीले उद्योग बन्द गर्ने गरेको उनले बताए ।

गत आर्थिक वर्ष २०८२÷८३ मा धनकुटामा १५१ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको तथ्याङ्कअनुसार जिल्लामा उद्योग बन्द हुनेको सङ्ख्या यस्तो पाइएको हो । जिल्लामा गत आर्थिक वर्षमा १२३ उद्योग बन्द भएका छन् । वाणिज्यतर्फ २८ उद्योग बन्द भएका छन् । गत आर्थिक वर्षमा घरेलु तथा साना उद्योग कार्यालय धनकुटामा १४८ वटा नयाँ उद्योग दर्ता भएका छन् ।

जसमा वाणिज्यतर्फ ३७ र प्रशासनतर्फ १११ उद्योग नयाँ दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी अर्जुन गिरीले जानकारी दिए । उनका अनुसार उत्पादकमूलक १५, कृषि तथा वनजन्य ५२, पर्यटन १७, सेवामूलक २२ र सूचना प्रविधिका पाँच गरी १११ वटा नयाँ उद्योग दर्ता भएका हुन् ।

वाणिज्यतर्फ खाद्यान्न र किराना गरी ३७ वटा नयाँ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका अनुसार प्रशासनतर्फ ५१६, र वाणिज्यतर्फ २४८ गरी जम्मा ७६४ उद्योग नवीकरण भएका छन् । कार्यालयमा हालसम्म चार हजार २९३ उद्योग दर्ता रहेका छन् । कार्यालयमा रु एक करोड ८५५ पुँजी वृद्धि भएको छ भने रु ३५ लाख १७ हजार ३९९ कर जम्मा भएको कार्यालयले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उद्योग दर्ता हुनेको सङ्ख्या भने बढेको छ । अघिल्लो आर्थिक वर्षमा १३४ वटा नयाँ उद्योग दर्ता भएका थिए भने गत आर्थिक वर्षमा १४८ वटा नयाँ उद्योग दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उद्योग बन्द हुनेको सङ्ख्या भने झण्डै दोब्बरले घटेको छ । अघिल्लो आर्थिक वर्ष धनकुटामा ३३६ उद्योग बन्द भएका थिए भने गत आर्थिक वर्षमा १५१ वटा मात्रै उद्योग बन्द भएका छन् ।