चितवन । पहिरोले निरन्तर अवरुद्ध बन्दै आएको पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरको सडक कहिले खुल्ला र सवारीसाधन आवतजावत सहज हुन कति दिन लाग्ला भन्नेमा सर्वसाधारण र यात्रुहरू व्यग्र प्रतीक्षामा छन्। नौबिसे–मुग्लिन सडक आयोजनाका अनुसार सबै काम योजनाबद्ध रूपमा अघि बढेमा आउँदो भदौ मसान्तसम्ममा सर्वसाधारणका सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी सडक तयार हुनेछ।
पहिरोले मुख्य सडक भासिएपछि त्यसको माथिल्लो भागबाट रुख कटान र झाडी फाँड्दै डाँडामाथिबाट दुवैतर्फ करिब चार मिटर चौडाइको नयाँ ‘ट्र्याक’ खोलिएको छ। निर्माण कम्पनी शर्मा–जेडआइभी जेभीले मुख्य सडकभन्दा करिब २० मिटर अग्लो र ३५० मिटर लामो ट्र्याक तयार पारेको हो। तर, अहिले खोलिएको यो ट्र्याक सर्वसाधारणका सवारीसाधनका लागि नभई निर्माण सामग्री, इन्धन पुर्याउन र कामदार आवतजावतका लागि मात्र प्रयोग भइरहेको छ।
आयोजनाका अनुसार हिजो खोलिएको ट्र्याकलाई फराकिलो बनाउने र डिजाइनअनुसार स्थायी रूपमा पहिरो व्यवस्थापन गर्ने काम द्रुत गतिमा अघि बढाइएको छ। मुख्य सडकबाट गाडी गुडाउन अझै धेरै प्राविधिक चरणहरू बाँकी छन्। माथितिर भित्ता काट्ने, ग्राभेलिङ गर्ने, ग्रेडिङ मिलाउने र स्लोप कटिङका कामहरू सम्पन्न गर्न केही दिन लाग्नेछ। आपत्कालीन अवस्थामा यात्रुहरू हिँडेर वारपार गर्न सकिने अवस्था बने पनि सार्वजनिक सवारी गुडाउन योग्य बनाउन भने भदौ मसान्तसम्मको समयसीमा तय गरिएको हो।
कम्पनीका अनुसार कामलाई तीव्रता दिन उपकरण र जनशक्ति व्यापक रूपमा थपिएको छ। हाल दुईवटा एक्साभेटर थपेर सात पुर्याइएको छ भने एउटा जेसिबी, एउटा लोडर र दुईवटा बुल्डोजरसहितका भारी उपकरण परिचालन गरिएका छन्। प्राविधिक सामग्री र जनशक्तिको अभाव नरहेकाले मौसमले साथ दिएमा तोकिएकै समयभित्र कृष्णभीरको बाटो खुलेर यातायात पूर्ण रूपमा सञ्चालनमा आउनेछ।




प्रतिक्रिया