इरानी शासनको अन्त्य नजिकिँदैछ : इजरायली प्रधानमन्त्री नेतन्याहु


तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानको वर्तमान शासन अन्त्यको नजिक पुगेको दाबी गरेका छन् ।

इजरायलले आफ्ना शत्रुविरुद्धको सैन्य कारबाही जारी राख्न दृढ रहेको पनि उनले बताए । इरानी शासनको पतनले पश्चिम एसिया र यहुदी समुदायमा दूरगामी प्रभाव पार्ने यहुदी नयाँ वर्ष रोश हशनाहको अवसरमा आयोजित सरकारी समारोहमा आइतबार सम्बोधन गर्दै नेतान्याहुले दाबी गरे ।

इरानविरुद्ध इजरायलले सञ्चालन गरिरहेको कारबाही शासन परिवर्तनतर्फ लक्षित रहेको उनले संकेत गरे । आफू यसका लागि दृढ रहेको बताउँदै उनले इजरायल अहिले पहिलेभन्दा बलियो अवस्थामा रहेको र उसका शत्रुहरू कमजोर बनेको दाबी गरे ।

नेतान्याहुले भने,‘हामी आफ्नो रक्षा गर्न दृढ छौँ । हामीले आफ्ना शत्रुलाई प्रहार गर्ने अठोट गरेका छौँ ।’ उनका अनुसार अहिले इरान वा इजरायलका अन्य कुनै शत्रुले इजरायलमाथि आक्रमण गरिरहेका छैनन् । तर उनीहरूले कुनै गल्ती गरे त्यसको परिणाम आफूहरूले कल्पना नगरेको स्तरको प्रहारका रूपमा भोग्नुपर्ने चेतावनी उनले दिए ।

इरानसहित इजरायलका शत्रुलाई चेतावनी दिँदै नेतान्याहुले भने, ‘हामीसँग खेलबाड नगर्नुहोस् । कठिन समयमा कसरी एकजुट हुने भन्ने हामीलाई थाहा छ । अहिले इजरायल पश्चिम एसियाको सबैभन्दा शक्तिशाली शक्ति हो ।’

सम्बोधनका क्रममा उनले इजरायली सेना र सुरक्षा निकायको पनि प्रशंसा गरे । लेबनान, गाजा तथा जुडिया र सामरिया क्षेत्रमा इजरायली सुरक्षा बलले निरन्तर कारबाही गरिरहेको पनि उनले बताए । एजेन्सी