काठमाडौं । लुटपाट तथा चोरीका घटनामा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। रामेछापको खाँडादेवी गाउँपालिका–२ स्थित मझुवामा भएको डाँकाचोरी र सुनापति गाउँपालिका–२ स्थित दिमीपोखरीमा भएको चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो।
मझुवामा भदौ १८ गते मध्यराति ८५ वर्षीय बखतमान लामा र उनकी पत्नी ८६ वर्षीया कान्छीमाया तामाङ सुतिरहेको अवस्थामा घरमा छिरेका नकाबधारीले गहना तथा नगद लुटेर भागेका थिए। पाँच जना आरोपी घरमा प्रवेश गरी दम्पतीको हात प्लास्टिकको टेपले बाँध्नुका साथै मुख र आँखामा समेत पट्टी लगाएर नियन्त्रणमा लिई लुटपाट गरेको रामेछापका डीएसपी सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।
सो घटनामा संलग्न आरोपमा पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख घर भएका २५ वर्षीय सुमन जर्घामगर, रामेछापको खाँडादेवी गाउँपालिका–२ का ३२ वर्षीय दीर्घराज मोक्तान, ३३ वर्षीय पशुपति श्रेष्ठ, झापाको दमक घर भएका ४४ वर्षीय पिताम्बर गहतराज र धनकुटाको बेलाहारा नगरपालिका घर भएका ३८ वर्षीय गुणराज विश्वकर्मा उर्फ दीपक छन्।
उनीहरूलाई भदौ २० गते भक्तपुरबाट पक्राउ गरिएको डीएसपी जैसवारले बताए।
त्यस्तै, सुनापति गाउँपालिका–२ स्थित दिमीपोखरीमा ७५ वर्षीय इमानसिंह तामाङको घरबाट ७८ हजार रुपैयाँ नगद चोरीमा संलग्न दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। भदौ १८ गते भएको चोरीमा संलग्न सुनापति गाउँपालिका–२ घर भएका ३४ वर्षीय आकाश लामा र १९ वर्षीय सन्दीप तामाङलाई पक्राउ गरिएको डीएसपी जैसवारले जानकारी दिए।
ताल्चा लगाएको घर फोडेर उनीहरूले वृद्धभत्ताबापतको रकम चोरेर भागेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। बिहान करिब ६ बजेतिर उनीहरू घरमा प्रवेश गरी चोरी गरेको खुलेको प्रहरीले जनाएको छ।
दुवै घटनामा संलग्न आरोपीहरूमाथि अदालतबाट म्याद लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।





प्रतिक्रिया