काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको ध्यानाकर्षण गराइएको छ। स्वतन्त्र नागरिक अभियान नेपालका अध्यक्ष ऋषि धमलाको नेतृत्वमा सोमबार मन्त्रालय पुगेको टोलीले ज्ञापनपत्र बुझाएपछि मन्त्री लम्सालले सडक विभागका महानिर्देशक (डिजी) लाई टेलिफोन गरी तुरुन्तै काम अघि बढाउन निर्देशन दिएका छन्।
ज्ञापनपत्र बुझ्दै मन्त्री लम्सालले मन्त्रालयका सचिवलाई तत्काल तोकादेश दिनुका साथै सडक विभागका डिजीलाई फोन गरेर उक्त सडक खण्डको स्तरोन्नति र कालोपत्र (पिच) को काम अघि बढाउन भनेका हुन्।
नुवाकोटबाट पटक-पटक धेरै नेता, सांसद र मन्त्री बने पनि साढे दुई दशकदेखि यो सडक उपेक्षामा पर्दै आएको थियो। अध्यक्ष धमलाको विशेष पहल र मन्त्रीको तत्कालको निर्देशनपछि अब नुवाकोटको लाप्चाङदेखि रसुवाको सदरमुकाम धुन्चे जोड्ने यो वैकल्पिक राजमार्ग कालोपत्र हुने बाटो खुलेको छ।
भोटेकोशी बाढीपछि रसुवा, नुवाकोट र धादिङको स्थलगत अनुगमन तथा राहत वितरणका क्रममा पुगेका धमलाले मुख्य सडक बाढीले बिग्रिएपछि स्थानीय, यात्रु र राहत टोलीले ठूलो सास्ती खेप्नुपरेको जानकारी गराएका थिए।
“नुवाकोटबाट सामान्यतया दुई घण्टामा धुन्चे पुगिने बाटोमा अहिले १८ देखि २० घण्टासम्म ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता छ,” अध्यक्ष धमलाले भने, “लाप्चाङ पुग्दा मैले जनतालाई यो सडक कालोपत्र गराउन पहल गर्ने वचन दिएको थिएँ। सोहीअनुसार मन्त्रीज्यूलाई भेटेर ध्यानाकर्षण गराएको हुँ। मन्त्रीज्यूले सचिवलाई तोकादेश र डिजीलाई फोन गरेरै निर्देशन दिइसक्नुभएकाले काम हुनेमा पूर्ण ढुक्क छौँ।”
नुवाकोटको सूर्यगढी गाउँपालिका लाप्चाङ हुँदै रसुवाको सरमथली-पाटीखर्क-कालिकास्थान भएर धुन्चे जोड्ने यो सडकको ट्रयाक निर्माण भएको २५ वर्षभन्दा बढी भइसकेको छ। पासाङल्हामु राजमार्गमा बाढी-पहिरोजस्ता प्राकृतिक विपद् आउँदा यो सडक ‘लाइफ लाइन’का रूपमा प्रयोग हुँदै आएको छ। तर, स्तरोन्नति र कालोपत्र नहुँदा वर्षायाममा हिलो र पहिरो तथा हिउँदमा धुलोको सास्ती कायमै छ।
स्वतन्त्र नागरिक अभियानका प्रमुख मागहरू:
- तत्काल कालोपत्र प्रक्रिया: अढाई दशकदेखि अलपत्र परेको नुवाकोट लाप्चाङ-सरमथली-पाटीखर्क-धुन्चे वैकल्पिक राजमार्गलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गरी तुरुन्त बजेट विनियोजन र ठेक्का प्रक्रिया सुरु गरियोस्।
- नाली तथा सडक विस्तार: वर्षाको पानीको उचित निकासका लागि तत्काल नाली निर्माण र सडक विस्तार कार्य थालियोस्।
- स्थायी स्तरोन्नति: उत्तर-दक्षिण व्यापारिक मार्ग र चीनसँगको व्यापारलाई निरन्तरता दिन यो सडकलाई बाह्रैमास निर्बाध सञ्चालन हुन सक्ने गरी स्थायी स्तरोन्नति गरियोस्।
ज्ञापनपत्र बुझाउने टोलीमा अभियानका अध्यक्ष धमलासँगै महासचिव हेमराज अधिकारी ‘कश्यप’, केन्द्रीय सदस्य तथा बागमती प्रदेश प्रमुख एस के लम्साललगायतका प्रतिनिधिहरूको उपस्थिति थियो।






प्रतिक्रिया