बर्खापछि फेरि चलायमान हुँदै अन्नपूर्ण पदमार्ग


लमजुङ, २२ भदौ । वर्षायामसँगै घटेको अन्नपूर्ण पदमार्गको पर्यटक आगमन पछिल्लो दुई सातायता बढ्न थालेको छ । अघिल्लो साता करिब १५० पर्यटक धारापानी हुँदै प्रवेश गरेकामा पछिल्लो साता उक्त सङ्ख्या बढेर करिब १०० पुगेको छ ।

पर्यटकको आगमन बढेसँगै पदमार्ग आसपासका पर्यटन व्यवसायी पनि उत्साहित भएका छन् । वर्षायाम सुरु भएपछि पर्यटक आगमन घटेको थियो । मुख्ययाममा दैनिक ५०० देखि ६०० सम्म पर्यटक आउने गरेकामा वर्षायाममा कतिपय दिन एक(दुई जना र अन्य दिन १०(१५ जनासम्म मात्रै आउने गरेका धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङले बताए ।

भदौमा हालसम्म ६१४ जना पर्यटक धारापानी चेकपोस्ट हुँदै प्रवेश गरेका छन् । तीमध्ये ९९ सार्क मुलुकका र ५१५ जना गैरसार्क मुलुकका छन् । पछिल्लो समय विशेषगरी मनास्लु हिमाल आरोहण तथा पदयात्राका लागि आउने पर्यटक बढेका गुरुङले बताए । “पछिल्लो दुई सातादेखि पर्यटकको आगमन बढिरहेको छ । अहिले विशेषगरी मनास्लु हिमाल चढ्न आउने पर्यटक बढी छन्”, उनले भने, “अब मुख्य पर्यटन याम सुरु हुँदै गएकाले पर्यटकको सङ्ख्या अझ बढ्ने अपेक्षा छ ।”

धारापानी चेकपोस्टको तथ्याङ्कअनुसार सन् २०२६ जनवरी १ देखि सेप्टेम्बर ६ सम्म २० हजार ९१७ पर्यटक उक्त प्रवेशबिन्दु हुँदै आएका छन् । लमजुङको बेँसीसहरबाट सुरु हुने अन्नपूर्ण पदमार्ग मनाङ हुँदै थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङतर्फ पुग्छ । म्याग्दी र कास्की क्षेत्रसँग जोडिने यो पदमार्ग पाँच जिल्लाको प्राकृतिक तथा सांस्कृतिक विविधता समेट्ने प्रमुख पदयात्रा मार्ग हो । हिमाली दृश्य, हिमाली बस्ती, स्थानीय संस्कृति तथा प्राकृतिक र धार्मिकस्थलको अवलोकन गर्न पाइने भएकाले यो मार्ग पर्यटकको रोजाइमा पर्दै आएको छ ।

वर्षायाममा व्यवसाय सुस्ताएपछि केही समय सुनसान बनेका पदमार्ग आसपासका होटल तथा पर्यटन व्यवसायी अहिले पुनःसक्रिय हुन थालेका छन् । मस्र्याङ्दी गाउँपालिका(४, च्याम्चेका पर्यटन व्यवसायी बाबुराम तामाङले असोज र कात्तिकमा पर्यटकको चाप बढ्ने भएकाले व्यवसायी उत्साहित रहेका बताए । “असोज र कात्तिकमा पर्यटकको चाप निकै बढ्छ । उक्त समयमा निकै व्यस्त हुन्छौँ र व्यवसाय पनि राम्रसँग चल्छ । दैनिक रु ५० हजारसम्म कारोबार हुन्छ”, उनले भने ।

यस वर्ष पर्यटकको आगमन अझ बढ्ने अपेक्षा गरिएको बताउँदै तामाङले पदमार्गको बाटो सुधारमा ध्यान दिनुपर्ने बताए । “पर्यटक आउनेमा हामी निकै उत्साहित र आशावादी छौँ । बाटो राम्रो र सहज बनाउन सकिए पर्यटकलाई थप सहज हुनुका साथै आगमन पनि बढ्नेछ”, उनले भने । पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङ, खुसीबहादुर तामाङलगायत व्यवसायी पनि मुख्य याममा पर्यटकको आगमन बढ्ने अपेक्षामा छन् ।

मौसम अनुकूल बन्दै गएपछि दैनिक ३०० देखि ४०० सम्म पर्यटक पदमार्गमा आउने उनीहरूको अनुमान छ । अन्नपूर्ण पदमार्गमा असोजदेखि मङ्सिरसम्म मुख्य पर्यटकीय याम हो । दसैँ, तिहार तथा त्यसपछिका समयमा पदयात्रीको आगमन बढ्ने भएकाले लामो समयदेखि सुस्ताएको पर्यटन व्यवसायले गति लिने व्यवसायीको विश्वास छ ।