काठमाडौं । कन्स्टेलेसन बचत तथा ऋण सहकारी लिमिटेडले आफ्नो १७औँ वार्षिक साधारणसभा तथा वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। जडीबुटी, काठमाडौंस्थित आशीर्वाद पार्टी प्यालेसमा आयोजित कार्यक्रममा संस्थाका शेयर सदस्य, बचतकर्ता, सञ्चालक समिति, कर्मचारी तथा विभिन्न क्षेत्रका अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष श्री प्रकाशकुमार श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष मुक्ति राम श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी थियो।
कार्यक्रमको सुरुवात संस्थाका उपाध्यक्ष श्री टेकबहादुर तामाङले उपस्थित सम्पूर्ण अतिथि, शेयर सदस्य, बचतकर्ता तथा सहभागीहरूलाई स्वागत गर्दै गरे ।

संस्थाका अध्यक्ष प्रकाश श्रेष्ठले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले हालसम्म हासिल गरेका उपलब्धि, सेवा तथा गतिविधिबारे जानकारी गराउनुभयो। उहाँले संस्थाको आगामी योजना तथा भविष्यमा अझ प्रभावकारी रूपमा अघि बढ्ने कार्ययोजनासमेत प्रस्तुत गरे ।
अध्यक्ष श्रेष्ठले आफ्नो मन्तव्यका क्रममा संस्थाको १७ वर्षे यात्रा अनेकौँ चुनौती र संघर्ष पार गर्दै यहाँसम्म आइपुगेको बताए । संस्थाको सुरुवाती चरणमा सीमित पूँजी, न्यून शेयर सदस्य संख्या र स्रोतसाधनको अभावका कारण संस्था सञ्चालन गर्न निकै कठिन भएको स्मरण गर्दै उनले त्यस समयमा सञ्चालक समितिका सदस्यहरूले आफ्नै तर्फबाट रकम लगानी गर्नुका साथै आवश्यक पर्दा पुनः थप रकम जुटाएर संस्थालाई अघि बढाएको उल्लेख गरे । नयाँ शेयर सदस्य थप्नु र संस्थाप्रति विश्वास कायम गराउनु पनि ठूलो चुनौती रहेको उनकाे भनाइ थियो।
कोरोना महामारी, आर्थिक संकुचन तथा देशभर देखिएको सहकारी क्षेत्रको संकटजस्ता कठिन परिस्थितिका बाबजुद पनि संस्थाले आफ्नो पारदर्शिता, अनुशासन र सदस्यहरूको विश्वासलाई कायम राख्दै निरन्तर प्रगति गर्न सकेको उनले दाबी गरे । देशभर सहकारी क्षेत्र संकटको अवस्थामा रहँदा समेत कन्स्टेलेसन सहकारीले नाफा आर्जन गर्न सफल हुनुका साथै सञ्चालक समिति तथा शेयर सदस्यहरूलाई लाभांश वितरण गर्न सकेको विषयलाई उनले संस्थाको महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे । साथै, आगामी पाँच वर्षमा सदस्य संख्या १० हजार पुर्याउने, शेयर पूँजी रु. १५ करोड, निक्षेप रकम रु. १०० करोडभन्दा बढी, कर्जा लगानी रु. १०० करोडभन्दा बढी तथा विभिन्न कोषहरूमा रु. ५ करोडभन्दा बढी रकम पुर्याउने महत्वाकांक्षी लक्ष्यसहित संस्था अघि बढिरहेको उनले जानकारी दिए ।
त्यस्तै, संस्थाकी कोषाध्यक्ष ज्ञानु लामिछाने गिरीले आर्थिक वर्षको आय–व्यय तथा विभिन्न खर्चको विवरण प्रस्तुत गर्दै संस्थाको आर्थिक पारदर्शिताबारे जानकारी गराइन् ।
संस्थाका प्रबन्धक लक्ष्मण अर्यालले कन्स्टेलेसन बचत तथा ऋण सहकारीको स्थापना, इतिहास, विकासक्रम, उद्देश्य तथा संस्थाको वर्तमान अवस्थाबारे सहभागीहरूलाई जानकारी गराए ।
कार्यक्रमका प्रमुख अतिथि प्रकाशकुमार श्रेष्ठले संस्थाको १७ वर्षे यात्राका लागि बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझ सफलतापूर्वक अघि बढ्न सुझाव दिए । उनले आफ्नो अनुभव, कार्यक्षेत्रको ज्ञान तथा विशेषज्ञता साझा गर्दै सहकारीले सदस्यको विश्वासलाई केन्द्रमा राखेर पारदर्शिता, सुशासन र दीर्घकालीन योजनाका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

विशेष अतिथि मुक्ति राम श्रेष्ठलगायत अन्य अतिथिहरूले पनि संस्थाको प्रगति तथा आगामी योजनाको प्रशंसा गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमलाई संस्थाका सचिव मानबहादुर केसीले कुशलतापूर्वक सञ्चालन गरेका थिए । उनकाे सहज र रोचक कार्यक्रम सञ्चालनका कारण लामो समयसम्म चल्ने साधारणसभा पनि सहभागीहरूका लागि उत्साहपूर्ण र मनोरञ्जनात्मक बनेको थियो।
वार्षिक साधारणसभाको अवसरमा संस्थामा योगदान पुर्याउने कर्मचारीहरूलाई प्रमाणपत्र तथा बोनस प्रदान गरी सम्मान गरिएको थियो। साथै, सभामा प्रस्तुत गरिएका विभिन्न प्रस्तावमाथि छलफल गरी केही प्रस्तावहरूलाई उपस्थित शेयर सदस्यहरूले सर्वसम्मत रूपमा पारित गरेका थिए।
संस्थाले आफ्ना शेयर सदस्यहरूका लागि वार्षिक बोनस समेत प्रदान गरेको थियो। संस्थाले आगामी दिनमा शेयर सदस्य तथा बचतकर्ताको विश्वासलाई अझ मजबुत बनाउँदै पारदर्शी, विश्वसनीय र सदस्यकेन्द्रित सहकारीका रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएको छ।






प्रतिक्रिया