निरन्तरको भूकम्पले लोमान्थाङ त्रसित, ऐतिहासिक माटोका घर जोखिममा


काठमाडौ । पछिल्लो २४ घण्टामा मुस्ताङको लोमान्थाङ क्षेत्रमा सात पटक भूकम्पको धक्का महसुस भएको छ।

पटक–पटक भूकम्प आएपछि उत्तरी मुस्ताङको लोमान्थाङ गाउँपालिकाका स्थानीय त्रसित बनेका छन्। निरन्तरको भूकम्पका कारण ऐतिहासिक तथा पर्यटकीय क्षेत्र लोमान्थाङमा ठूलो भौतिक क्षति पुगेको गाउँपालिका अध्यक्ष टसी न्हूर्बू गुरुङले जानकारी दिएका छन्।

सदियौँ पुराना माटोका संरचनाले बनेको लोमान्थाङमा अधिकांश घरमा चिरा परेको छ। गाउँपालिका अध्यक्ष गुरुङका अनुसार गाउँपालिकाभित्रका करिब सबैजसो घरमा कुनै न कुनै रूपमा क्षति पुगेको छ भने ५० प्रतिशतभन्दा बढी घर तत्काल बस्न जोखिमपूर्ण अवस्थामा पुगेका छन्।

उनका अनुसार २० देखि ३० प्रतिशत घर पूर्ण रूपमा बस्न अयोग्य हुने गरी क्षतिग्रस्त भएका छन् भने करिब ५० प्रतिशत घरमा उल्लेख्य क्षति पुगेको प्रारम्भिक अनुमान छ। ‘पुराना र नयाँ केही नभनी भूकम्पले क्षति गरेको छ। धेरैजसो घर चिरिएका छन्,’ अध्यक्ष गुरुङले भने, ‘अलिकति लामो समय भूकम्प गयो भने सबै संरचना ढल्ने अवस्था छ।’

भूकम्पका कारण मानवीय तथा पशु चौपायाको क्षति भने अहिलेसम्म नभएको गाउँपालिकाले जनाएको छ। क्षतिको विस्तृत विवरण संकलन गर्न गाउँपालिकाले प्राविधिक, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोली परिचालन गरेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्युटन लम्सालका अनुसार जनप्रतिनिधि, कर्मचारी, प्राविधिक तथा सुरक्षा टोली वडा–वडामा पुगेर क्षतिको स्थलगत निरीक्षण र मुचुल्का उठाउने काममा जुटेका छन्। लोमान्थाङका अधिकांश संरचना माटोबाट निर्मित र ऐतिहासिक प्रकृतिका भएकाले थप भूकम्प वा पराकम्पन आएमा क्षति अझ बढ्न सक्ने जोखिम रहेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले प्रारम्भिक रूपमा क्षतिको विवरण संकलन गरिरहेको र घटनाबारे जिल्ला प्रशासन कार्यालयसँगै संघीय तथा प्रदेश सरकारलाई समेत जानकारी गराइसकेको जनाएको छ।