नेपालमा २ वटाभन्दा बढी ग्यास उद्योग आवश्यक छैन, ५८ वटाको संरचनामाथि पुनर्विचार हुनुपर्छ: मन्त्री यादव


काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले एलपी ग्यासको आपूर्ति सहज बनाउन उद्योगीमाथि कडाइ गर्नुपर्ने बताएकी छन्।

बुधबार उद्योग समितिको बैठकमा बोल्दै मन्त्री यादवले उद्योगी तथा कर्मचारीतन्त्रको प्रभावका कारण ग्यास आपूर्ति व्यवस्थापन र उद्योग क्षेत्र सुधारमा अपेक्षित काम गर्न नसकिएको गुनासो गरिन्। ग्यास उद्योगीलाई कडाइ नगरेसम्म बजारमा ग्यासको आपूर्ति सहज बनाउन कठिन हुने उनको भनाइ थियो।

‘उद्योगीहरूलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन,’ मन्त्री यादवले भनिन्। नेपालमा आवश्यकताभन्दा बढी एलपी ग्यास उद्योग सञ्चालनमा रहेको दाबी गर्दै उनले हाल रहेका ५८ वटा ग्यास उद्योगको संरचनामाथि पुनर्विचार गर्नुपर्ने बताइन्। नेपालजस्तो मुलुकमा दुईवटाभन्दा बढी ग्यास उद्योग आवश्यक नरहेको उनको तर्क थियो।

मन्त्री यादवले ग्यास उद्योगको लाइसेन्स वितरण प्रक्रियामाथि समेत प्रश्न उठाइन्। करोडौँ रुपैयाँ लिएर लाइसेन्स वितरण गरिएको भन्दै उनले यसको औचित्यमाथि पुनर्विचार गर्नुपर्ने बताइन्। ग्यासको आपूर्ति सहज बनाउन आफूले उद्योगीहरूसँग पटक–पटक आग्रह गरे पनि समस्या समाधान हुन नसकेको उनले बताइन्।

उद्योगीहरूसँग सहयोग माग्दा समेत अपेक्षित परिणाम नआएको उनको भनाइ थियो। मन्त्री यादवले सरकारभन्दा कर्मचारीतन्त्र शक्तिशाली देखिएको भन्दै प्रशासनिक संयन्त्रमाथि समेत असन्तुष्टि व्यक्त गरिन्।

‘देश कर्मचारीतन्त्रले चलाएको छ। यस्तो बलियो सरकार हुँदा त कर्मचारीले केही गर्न दिँदैनन् भने अरू सरकारले के गर्न सक्थे?’ उनले प्रश्न गरिन्। आफूले उद्योग तथा व्यवसायको वातावरण सुधार गर्न खोजे पनि कर्मचारीबाट पर्याप्त सहयोग नपाएको उनले गुनासो गरिन्। कर्मचारीले काम गर्न नसक्ने भन्दै प्रत्यक्ष रूपमा जवाफ फर्काउने गरेको उनको भनाइ थियो।

‘कर्मचारीले यति दुःख दिएका छन्, म केही गर्न सक्दिनँ भनेर सिधै जवाफ फर्काउँछन्,’ मन्त्री यादवले भनिन्। उनले उद्योगधन्दा सञ्चालनका लागि अनुकूल वातावरण निर्माण गर्न आवश्यक रहेको बताउँदै उद्योगीको हितमा बनेका नियम–कानुनमा समेत आवश्यक सुधार गर्न खोजिरहेको तर त्यसलाई कार्यान्वयन गर्न कठिन भइरहेको बताइन्।