जलवायु न्यायका लागि विश्वको ढोका ढकढक्याउने रास्वपा सभापति लामिछानेको उद्घोष


काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भोटेकोशीमा आएको विनाशकारी बाढीलाई केवल प्राकृतिक विपत्तिका रूपमा लिन नमिल्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै लामिछानेले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति जलवायु संकटको असमान प्रभावसँग जोडिएको बताएका हुन्। उनले बाढीमा ज्यान गुमाएका नागरिकको मृत्यु केवल प्राकृतिक विपत्तिका कारण भएको भनेर सीमित गर्न नहुने तर्क गरे।

जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको गम्भीर असर नेपालजस्ता मुलुकले भोगिरहेको उनको भनाइ थियो। ‘भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूलाई केवल प्राकृतिक विपत्तिमा मृत्यु भएका भन्न सकिन्न। यो जलवायु संकटको असमान भारका कारण उनीहरूले ज्यान गुमाउनु परेको हो,’ लामिछानेले भने।

नेपालले अब अन्तर्राष्ट्रिय समुदायसमक्ष जलवायु न्यायको मुद्दा सशक्त रूपमा उठाउनुपर्नेमा उनले जोड दिए। जलवायु परिवर्तनबाट भएको क्षतिको क्षतिपूर्तिका लागि जिम्मेवार मुलुकलाई जवाफदेही बनाउनुपर्ने उनको धारणा थियो।

‘हामी अब जलवायु न्याय माग्छौँ। यसका लागि हामी विश्वको ढोका–ढोका ढकढक्याउने छौँ,’ उनले भने। लामिछानेले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा स्थानीय बासिन्दाले देखाएको आपसी सहयोग र एकताको प्रशंसा गरे।

ठूलो संकट र अपूरणीय क्षति व्यहोर्नुपरे पनि प्रभावित नागरिक एकअर्काको साथमा उभिएको भन्दै उनले त्यसलाई विपत्तिविरुद्ध लड्ने महत्वपूर्ण शक्ति भएको बताए। उनले भोटेकोशीसहित देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनालाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताए।

विपद् व्यवस्थापनलाई तत्कालीन राहतमा मात्र सीमित नगरी दीर्घकालीन पुनर्स्थापना र जलवायुजन्य जोखिम न्यूनीकरणसँग जोड्नुपर्नेमा पनि लामिछानेले जोड दिए। उनले नेपालले जलवायु परिवर्तनबाट व्यहोर्नुपरेको क्षतिको विषय राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय तहमा समेत प्राथमिकताका साथ उठाउनुपर्ने बताए।